बिराटनगर । नेपाली कांग्रेस र नेकपा एमालेबीच संघमा भएको सहमतिअनुसार कोशी प्रदेशमा सरकार गठन भएको छैन । कांग्रेसभित्र समीकरण मिलाउन समस्या देखिएको छ । कांग्रेसले दुई वटा मन्त्रालय थप्न गरेको प्रस्ताव एमालेले नमान्दा सरकारले पूर्णता पाउन नसकेको हो ।
नेपाली कांग्रेस र नेकपा एमालेबीच गठबन्धन भएर संघीय सरकार गठन भएको डेढ महिना भयो । संघमा भएको सहमतिअनुसार नै प्रदेश सरकारहरु गठन गर्ने भनिए पनि कोशीमा एमाले नेतृत्वको सरकारका कांग्रेस सहभागी भएको छैन । कांग्रेसमा मन्त्रीका आकांक्षी धेरै भएपछि मन्त्रालयले फुटाएर दुई वटा थप्न प्रस्ताव गरेको छ ।
कोशी कांग्रेसमा सभापति शेरबहादुर देउवा, नेता शेखर कोइराला, कृष्ण सिटौला र महामन्त्री विश्वप्रकाश शर्माका अलग-अलग समूह सक्रिय छन् । सबैलाई भाग पुर्याउन मन्त्रालयको संख्या बढाउनुपर्ने दबाब कांग्रेसले दिएको छ । तर मन्त्रालय थप गर्दा सरकारको बदनामी मात्र हुने भन्दै एमालेले मानेको छैन ।
आन्तरिक समस्याकै कारण कांग्रेसले मन्त्रीको नाम सिफारिस गर्न नसकेको हो । स्थिर सरकार गठन गर्ने र नागरिकलाई सुशासनको प्रत्याभूति दिलाउने संकल्प गरेका कांग्रेस र एमाले अहिले सानातिना विषयमा अल्झिन थालेको विश्लेषकको बुझाइ छ ।
२०७४ सालमा प्रदेश संरचना गठन हुँदा कोशीमा सात मन्त्रालय थिए । त्यसयता कुनै पनि मन्त्रीले कार्यभार बढी भयो भनेर गुनासोसमेत गरेका छैनन् । यस्तो अवस्थामा कुनै दललाई भाग पुर्याउनकै लागि मन्त्रालयको संख्या बढाउँदा राज्यलाई दायित्व मात्र थपिने छैन, कांग्रेस र एमालेले गरेको सुशासनको प्रतिबद्धता केवल सत्ताका लागि मात्रै रहेछ भन्ने बुझाइ नागरिकमा पर्न सक्छ ।