विराटनगर । इलामको रोङ गाउँपालिकाले सुरु गरेको बाल बचत कार्यक्रम तथा अभिभावक पढाउने कार्यक्रम प्रभावकारी बन्दै गएको छ । अघिल्लो आर्थिक वर्षदेखि सुरु भएको  बाल बचत कार्यक्रम नमुनाको रूपमा अघि बढेको गाउँपालिकाले जनाएको छ ।  पालिकाले यो अभियान २०८० मङ्सिर १ गतेदेखि लागु गरेको हो । विद्यालयमा आधारित उद्यमशीलता कार्यक्रम कार्यविधि २०८०मा भएको व्यवस्थाले अहिलेको बचतलाई उद्यमशीलतासँग जोडेर लग्न कोलागि बचत अभियान सुरु भएको पालिकाले जनाएको छ। 
बाल बचत अभियानमा असार मसान्तसम्ममा १ हजार ८ सय ६९ जनाले खाता खोलेका छन् । विद्यालयले खाता खेलिदिएपछि बैङ्कले १०० रुपैयाँ जम्मा गरिदिने तथा पालिकाले दैनिक १ रुपैयाँ बचत गरिदिने र बाँकी अभिभावकले पनि त्यही अनुसारको बचत जम्मा गर्नु पर्ने व्यवस्था गरिएको छ । गत असार मसान्तसम्ममा  रोङ गाउँपालिकाका यी बालबालिकाबाट १९ लाख बचत  भएको छ।  पालिकाले बचत गरेको दैनिक रु १ को दरले ३ लाख ७ हजार ७ सय ६१ रुपैयाँ बैङ्कको तर्फबाट खाता खोल्दा १०० सिएसआरको जम्मा १ लाख ८६ हजार ९ सय रुपैयाँ र बाँकी अभिभावकबाट बचत भएको हो । यसरी अभिभावक र पालिकाले गरेको बचत कक्षा १० या कक्षा १२ पास गरेर बाहिर पढ्न जान चाहेमा, पालिका नै छाडेर अर्कै पालिकामा भर्ना भई पढेको अवस्थामा या मृत्यु भएमा मात्र झिक्न पाइने व्यवस्था गरिएको रोङ गाउँपालिकाले जनाएको छ।
रोङ गाउँपालिकाले अभिभावक शिक्षा कार्यविधि बनाएर त्यसको आधारमा निर्देशिका अनुसार अभिभावकलाई पढाउँदै आएको छ।  अभिभावकलाई कसरी पढाउने भन्ने निर्देशिकामा नै मेन्युअलमा राखिएको पालिकाको दाबी छ । हरेक विद्यालयमा अभिभावक शिक्षा फोकल पर्सन तोकिएको छ। जसलाई कार्यविधिमा अभिभावक शिक्षा सहजकर्ता भनेर ३१ जनालाई  प्रशिक्षण दिएर हरेक विद्यालयमा एक एक जना तोकिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल तिखत्रीले बताए । 
 अभिभावक शिक्षा कार्यक्रम हरेक महिनाको अन्तिम शुक्रवार सबै विद्यालयमा हुँदै आएको छ।  ‘सबै अभिभावकलाई अनिवार्य विद्यालयमा बोलाइन्छ, बोलाइएका अभिभावकहरू  सबै जना आउनु भएको छ, उनले भने, यदि अभिभावक नआएको अवस्थामा वडाको सेवा सुविधासँग सम्बन्धित हुने भनिए पनि अहिलेसम्म अभिभावक नआएको भन्ने पालिकालाई जानकारी छैन ।’ त्यसको अर्थ सबै विद्यालयमा अभिभावक महिनै पिच्छे  पुग्ने गरेका छन् । 
विद्यालय शिक्षा सञ्चालन कार्यविधि अनुसार शिक्षकलाई नै अभिभावक शिक्षा सहजकर्ताको जिम्मेवारी तोकिएको छ।  सहजकर्ता तोकिनु भन्दा पहिला शिक्षकहरूलाई अभिभावकसँग कस्तो व्यवहार गर्ने, कसरी अभिभावकसँग नजिक हुने, के के कुरा सिकाउने, छलफल गर्दा ध्यान दिनु पर्ने कुराहरू,  कम्प्युटर तालिम पनि दिइएको थियो । विद्यालयबाट छानिएका अगुवा शिक्षक पहिचान गरिएको, कम्प्युटर चलाउन जान्नेलाई पालिका भित्र रहेका ३० वटा विद्यालयमा पठाइएको प्रमुख प्रशासकीय अधिकृत तिखत्रीले बताए । यो अभियानबाट अभिभावकहरूमा बचत गर्ने बानीको विकास भएको छ ।  वित्तीय साक्षरताको अभिवृद्धि भएको छ। उद्यमशीलता सम्बन्धी शिक्षा शिक्षा प्राप्त गरेका अभिभावकहरू आफैँ उद्यमी बन्ने ध्याउन्नमा पनि देखिएका छन् । आफ्नो बाल बच्चनालाई उच्च शिक्षा कसरी दिने भन्ने अभिभावकहरू बचत पछि उच्च शिक्षामा कसरी लगानी गर्ने, त्यसको लागि बचत गर्ने तरिका  तथा अभिभावकको भूमिकाको बारेमा पनि जानकार भएका छन्  । हरेक दिन अभिभावकले के गर्ने, कसरी गर्ने र विद्यालयका शिक्षकहरूले के गर्ने कसरी गर्ने भन्ने एक अर्काको सिकाइले शिक्षक र अभिभावक बिचको सम्बन्ध स्थापित हुँदै गएको छ। 
बालबालिकाले घरमा कसरी पढ्छन्, उनीहरूको पढाई, उनीहरूको पढाइएको गुणस्तर सुधारको विषयहरू उठान हुँदै आएका छन् । बाल स्याहार, सरसफाइ र बाल पोषण, बाल विकास, शिक्षा र संस्कारको कुराहरूलाई अभिभावकसँग जोडेर सिकाइन्छ । 
बालबालिका १० देखि ४ सम्म विद्यालयमा हुन्छन्, त्यो बाहेकका समय बालबालिका घर र समुदायमा हुने भएकोले घरको वातावरणलाई प्रभावकारी बनाउने काम विद्यालयले गर्दै आएको छ। बिहान बेलुका बालबालिकाले गर्ने व्यवहारमा सुधार आएको छ भनेँ घरको वातावरण बालमैत्री बनाउन, अभिभावकको व्यवहार सुधार गर्न भुुमिका विद्यालयले खेलेको छ। बाल बचत मार्फत भविष्यमा पढाउन, उच्च शिक्षाको लागि बचत गर्नु पर्छ भन्ने बानीको विकास भएको छ। भविष्यमा पैसा निकाल्न नसकेर पढाई छाड्नु पर्दैन भन्ने भावनाको विकास हुँदै गएको छ भनेँ एक रुपैयाँ पालिकाले जम्मा गरिदिन्छ तर कतिपय बालबालिकाले ३० हजार बढी बचत गरिसकेका छन् ।  यसलाई पालिकाले उपलब्धिको रूपमा लिएको छ।  एक अभिभावक र अर्को अभिभावकका बिचमा हुने छलफल  र अनुभव आदान प्रदानको अभ्यासले आफ्ना छोरा छोरीको बारेमा राम्रोसँग अभिभावकले बुझ्ने मौका पाएका छन् ।