विराटनगर ।काेशी प्रदेशबाट हुने मानव बेचबिखन तथा ओसारपसार प्रविधिको प्रयोगसँगै फेरिएको विभिन्न क्षेत्रमा काम गर्ने सङ्घसंस्थाले बताएका छन् । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण विषयमा माइती नेपालले आयोजना गरेको सरोकारवालासँग अन्तरक्रिया कार्यक्रममा सहभागीले मानव बेचबिखनको समस्या समाधानमा सबै लाग्नु पर्ने बताए ।
माइती नेपालका अनुसार वार्षिक ७ हजार किशोरीहरू कोठीसम्म पुगेर यौन शोषणमा पर्ने गरेका छन् । यसरी हुने बेचबिखनमा महिला बालबालिकाहरू ७ देखि १४ वर्ष उमेर समूहका, औसत १६ वर्षको हुने र बेचबिखनमा परेकाहरू यौन शोषणमा पर्ने गरेको माइती नेपालको तथ्याङ्कमा देखिन्छ ।
यसरी हुने मानव बेचबिखन तथा ओसारपसार आन्तरिक, सीमा पार र समुन्द्र पार हुने गरेको पाइएको माइती नेपालकी गीताञ्जली शर्माले बताइन् । पछिल्लो समय मायाप्रेमकाे नाममा बेचबिखन पर्ने दर बढ्दै गएको उनको भनाइ छ ।
सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै माया प्रेमको नाममा किशोरीहरू बेचबिखनको जोखिममा परेको उनले जानकारी दिइन् । कार्यक्रममा बोल्दै सिविनका कार्यक्रम संयोजक बासु अधिकारीले हराएको धेरै भए पनि भेट्टाएकाहरूको विवरण कसरी व्यवस्थित गर्ने भन्ने चुनौती भएको बताए । गैसस महासङ्घ मोरङकी अध्यक्ष विष्णु शर्माले सार्वजनिक गरिने तथ्याङ्क अपडेट गरेर जान सुझाव दिइन् । उनले वर्षौँदेखि एउटै तथ्याङ्क आउँदा त्यसको विश्वसनीयता माथि नै प्रश्न उठ्नेमा जोड दिइन् ।
कार्यक्रममा काेशी प्रदेश सामाजिक विकास मन्त्रालय, विराटनगर महानगरपालिका, मानव बेचबिखन तथा ओसारपसारको क्षेत्रमा काम गर्ने सङ्घसंस्थाका प्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरी, मानव अधिकार आयोग, वकिल तथा पत्रकारको उपस्थिति थियो ।