विराटनगर । झापाको कचनकवल गाउँपालिका वडा नम्बर १ घेरावारिमा भारतीय पक्षले १० गजामा बाटो खनेपछि विवाद उत्पन्न भएको छ । दशगजामा बाटो खनेको भन्दै नेपाली स्थानीयले  अवरोध गरेपछि विवाद उत्पन्न भएको हो । दुई देश बिचको सिमानाको १० गज खाली राख्नु पर्ने अन्तर्राष्ट्रिय नियम छ । १० गजा क्षेत्रमै  भारतीय नागरिकले बाटो खन्न थालेपछि नेपाली नागरिकहरूले बाटो खन्न अवरोध गरेको कचनकवल गाउँपालिकाका अध्यक्ष कलेन्द्रप्रसाद सिंह राजवंशीले बताए ।  
शनिवार दिउँसोबाट भारतीहरूले दश गजामा बाटो खनेकोमा स्थानीयले दिउँसै अवरोध गरेका थिए । दिउँसो नेपाली स्थानीयले अवरोध  गरेपछि बन्द भएको बाटो खन्ने काम आइतबार बिहानको रातीबाट शुरु गरेको कचनकवल गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष महावीर लिम्बुले बताए । 
उनका अनुसार घेरावारिमा १ सय ५० मिटर लामो  बाटो १० गजामा भारतीयहरूले खनेका छन् । बाटो १६ फिट चौडाइको रहेको छ । यस अघि पनि सो क्षेत्रमा बाटो खन्ने विषयमा विवाद उत्पन्न भएको थियो ।  स्थानीयले अवरोध गरेपछि अहिले बाटो खन्ने काम रोकिएको छ । काम रोकिए पनि खनेको बाटो भने नपुरेको लिम्बुले बताए । 
झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले दशगजा नजिकै सडक खनिएपछि दुवै पक्षबिच विवाद भएको बताए । विवाद बढेपछि काम बन्द गरेर छलफल भइरहेको बास्तोलाले बताए ।