विराटनगर । विराटनगरमा निकालिने राधाकृष्ण रथयात्राका लागि कोशी प्रदेश सरकारले प्रदेश भरि सार्वजनिक बिदा दिएको छ ।
श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने रथयात्रा मंगलबार दिउँसो ३ बजे निकालिनेछ । विराटनगरको रथयात्राका लागि प्रदेश सरकारले १४ वटै जिल्लामा बिदा दिएको हो । विराटनगरको रथयात्रामा हजारौँको सहभागिता हुन्छ ।
रथयात्रा ट्राफिक चोक–रोडशेष चोक–बसपार्क–महेन्द्र चोक–भृकुटी चोक– बरगाछी चोक, दुर्गा चोक हुँदै राधाकृष्ण मन्दिरमै आएर समापन हुनेछ ।
रथयात्राका क्रममा आकर्षक रुपमा सजिएको रथमा राधाकृष्ण युगल जोडीलाई रथारोहण गराएर नगर परिक्रमा गराइन्छ । हिन्दू धर्मावलम्बीहरुले विशेष रुपमा मनाउने र उल्लास प्रकट गर्ने विराटनगरको रथयात्रामा अन्य धर्मावलम्बीहरुको पनि उत्तिकै सहभागिता हुने गरेको छ ।
अत्यधिक जनसहभागिता हुने रथयात्रालाई लक्षित गरेर विराटनगरका विभिन्न स्थानमा खानेपानीको प्रबन्ध भएको छ भने सुरक्षा व्यवस्था पनि कडा तुल्याइएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङले रथयात्राका लागि ठूलो संख्यामा प्रहरी परिचालन गरिने जानकारी दिएको छ ।
मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले दिएको जानकारी अनुसार राधाकृष्ण रथयात्रालाई लक्षित गरेर सर्वसाधारणलाई सुरक्षित रुपमा सहभागी हुन आह्वान गरेका छन् ।
ठूलो संख्यामा श्रद्धालु भक्तजनको उपस्थिति हुने र उक्त समारोहमा हुने भिडभाडको फाईदा उठाउँदै आपराधिक प्रवृत्तिका मानिसहरूबाट चोरी, लुटपाट, पाकेटमारी लगायतका अवाञ्छित गतिविधि हुनसक्ने जनाएको छ ।
यस्तै रथयात्राका क्रममा भागदौड मच्चिई मानवीय दुर्घटना हुनसक्ने, बालबच्चाहरू हराउन सक्ने, बृद्ध बृद्धाहरू घाईते हुनसक्ने जोखिम रहेको भन्दै प्रहरीले सजग रहन पनि सार्वजनिक अपिल गरेको छ ।
विराटनगर महानगरपालिका-१ स्थिति राधाकृष्ण मन्दिरबाट विक्रम संवत् १९८८ सालदेखि ‘खट’ यात्रा सुरु भएको थियो, २०२५ सालबाट रथयात्रा निकाल्न थालिएको थियो ।