विराटनगर । हेर्ने कथा युट्युब च्यानलमार्फत परिवारसँग सम्पर्कमा पुगेका भोजपुरका प्रकाश तामाङलाई कोशी प्रदेश सरकारले कृषि र पशुपालन व्यवसाय गर्न चाहेमा सहयोग गर्ने घोषणा गरेको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफ्नो प्रदेशको नागरिकको पीडाबाट आफू मर्माहत भएको बताउँदै उनलाई सरकारले सहयोग गर्ने बताए ।  कोशी प्रदेश भित्र रहेर पशुपालन या कृषि पेसा गर्न चाहेमा सरकारले सहयोग गर्ने उनले जानकारी दिए ।   सङ्घीय सरकारबाट नागरिकता प्राप्तिको लागि पहल भइरहेको र नागरिकता प्राप्त हुने बित्तिकै प्रकाशलाई सहयोग दिइने मुख्यमन्त्री कार्कीले बताए ।  “शैक्षिक योग्यता भएको भए सरकारी रोजगारी दिन सकिन्थ्यो, उनले भने,  त्यो नभएपछि उहाँको सीपलाई समेत प्रयोग गर्न सक्ने गरी कृषि या पशुपालनमा सहयोग गर्ने तयारी गरेका हौँ ।” पत्रकार विद्या चापागाईँले गोरखाको चुमभ्यालीमा उनलाई भेटेपछि उनको ३५ वर्षपछि परिवारसँग पुनर्मिलन भएको हो । ३५ वर्षदेखि परिवारसँग सम्पर्कविहीन भएका प्रकाशको पुनर्मिलनको कथा हेर्ने कथा युटुव च्यानलमा हराएको वर्ष शीर्षकमा राखिएको छ । यो  विषय अहिले चौतर्फी चर्चामा आएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकता बनाउन पहल भइरहेको सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका थिए ।