सुनसरी । सुनसरीमा सम्पन्न दोस्रो अन्तरबिद्यालय फुटसल प्रतियोगिताको उपाधि हिमशिखर स्कुल तरहराले जितेको छ । सुनसरीको झुम्कामा रहेको अल स्पोर्टस कलेक्सनको आयोजनामा भएको प्रतियोगितामा इटहरीको शिखर एकेडेमीलाई ३-० गोल अन्तरले पराजित गर्दै हिमशिखरले उपाधि जितेको हो । डिफेन्डिङ च्याम्पियन समेत रहेको हिमशिखरलाई उपाधि जिताउन समिन राई, आर्यन तामाङ र सरन राईले एक-एक गोल गरे । उपाधि विजेता हिमशिखरले नगद ३० हजार तथा उपबिजेता शिखर एकेडेमीले २० हजार रुपैयाँ र टफी पाएको छ । 
       इटहरी ५ स्थित पाथीभरा फुटसलमा भएको प्रतियोगिताको उत्कृष्ट खेलाडी हिमशिखरका नमन राई घोषित भए । उनले स्मार्ट बाई साइकल पुरस्कार पाए । हिमशिखरकै प्रतीक राई उत्कृष्ट गोलकिपर, शिखर एकेडेमीका सुमन तामाङ हाईस्कोररसंगै म्यान अफ द फाइनल घोषित भए । फेयर प्लेको उपाधि सहिद स्मृति स्कुलले हात पार्‍यो । उनीहरूले जनही दुई-दुई हजार रुपैयाँ पुरस्कार पाए । 
      विजेता तथा उपबिजेता खेलाडीहरूलाई कार्यक्रमका प्रमुख अतिथि इटहरी उपमहानगर ९ का वडाध्यक्ष जितेन्द्र थापा, उच्च माध्यमिक शिक्षालय संघ हिसान इटहरी अध्यक्ष रामकुमार कालाखेती र मुख्य प्रायोजक केआइसी इटहरीका प्रमुख उमेश भण्डारीले पुरस्कार वितरण गरे । दुई दिनसम्म चलेको प्रतियोगितामा सुनसरीका २८ वटा विद्यालयको सहभागिता रहेको आयोजक अलस्पोर्टसका प्रमुख विमल मगरले जानकारी दिए ।