विराटनगर । कोशी प्रदेश सभाको बैठक आजबाट सुरु हूँदैछ । आर्थिक वर्ष २०८१/०८२ को बजेट नीति तथा कार्यक्रम पारित गरेपछि स्थगित भएको प्रदेश  सभाको बैठक  शुक्रवार दिउँसो १ बजेबाट सुरु हूँदैछ । लामो समयदेखि प्रदेश सभा बस्न नसकेपछि सत्ता पक्षकै प्रदेश सभा सदस्यहरूले विरोध गरेपछि भदौ ४ गते सूचना निकाल्दै भदौ १८ गतेका लागि सभा आव्हान भएको थियो ।
सोही दिन अर्को सूचना निकाल्दै प्रदेश सभाले भदौ १४ गतेका लागि प्रदेश सभा बोलाएको थियो । आजको प्रदेश सभामा नेपाली काँग्रेस सत्ता पक्षमा बस्न भएको छ । नेपाली काँग्रेस कोशी प्रदेश सभा संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङले काँग्रेस सत्ता पक्षमा बस्ने बताए । कोशी प्रदेशमा अहिले सम्म नेपाली काँग्रेस सरकारमा सहभागी भएको छैन ।
आन्तरिक भागबन्डा नमिलेका कारण काँग्रेस सरकारमा सहभागी नहुँदा सत्ता पक्षमा बस्ने की प्रतिपक्षमा बस्ने अन्योल हुँदै आएको थियो । यस अघि नेपाली काँग्रेस संसदीय दलका नेता उद्धव थापाले प्रदेश सभाको बैठक अगाडि काँग्रेस कोशी प्रदेश सरकारमा सहभागी हुने बताउँदै आएका थिए ।  तामाङले भने सरकारमा सहभागी नभए पनि काँग्रेस सत्ता पक्षमा नै बस्छ । हामीले हिक्मत कार्की नेतृत्वको सरकारलाई समर्थन गरेकाले सत्ता पक्षमा बस्ने बताए।