विराटनगर ।नेकपा माओवादी  कोसी प्रदेश संसदीय दलको प्रमुख सचेतकमा गीता तिम्सिना चयन भएकी छन् । मोरङबाट समानुपातिक तर्फबाट प्रदेश सभा सदस्य भएकी तिम्सिनालाई माओवादीले आज प्रमुख सचेतक चयन गरेको हो ।
प्रदेश सभाको दोस्रो कार्यकालको २ वर्ष पुग्न लाग्दा माओवादीले प्रमुख सचेतकमा तिम्सिनालाई चयन गरेको जानकारी प्रदेश सभामा गराएको छ । माओवादीले दलको उप नेता भने चयन गरेको छैन । दलमा जिम्मेवारी बाँडफाँड नभएको भन्दै दलका नेता इन्द्र आङ्बोको आलोचना हुँदै आएको थियो । 

कोसी प्रदेश सभाको दोस्रो कार्यकालमा अहिले सम्म माओवादी सत्ता पक्षमा रहँदै आएको थियो। तर आज बसेको नेकपा माओवादी संसदीय दलको बैठकले मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई दिएको समर्थन र विश्वासको मत फिर्ता लिने निर्णय गरेसँगै माओवादी प्रतिपक्षमा पुगेको छ । प्रदेश सभामा माओवादी प्रमुख प्रतिपक्षी दल बनेको छ ।