विराटनगर । सिटी सफारी चालहरुले विराटनगर महानगरपालिका घेराउ गरेका छन् । सिटी रिक्सा राजमार्गमा चलाउन नदिने निर्णय विरुद्ध आन्दोलनमा उत्रिएका उनीहरुले आज महानगरपालिकाको कार्यालय घेराउ गरेका हुन ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले विराटनगर महानगरसँगको समन्वयमा बिहीबारदेखि महानगर क्षेत्रभित्र पर्ने कोसी राजमार्गमा सिटी रिक्सा सञ्चालन गर्न रोक लगाइएको छ ।
रोजीरोटी खोस्ने निर्णय भएको भन्दै आज( शुक्रबार) रिक्सा चालकले महानगर कार्यालय घेराउ गरी प्रदर्शन गरेका हुन । यसअघि उनीहरूले राजमार्गमा सिटी रिक्सा तेस्र्याएर यातायात सञ्चालनमा अवरोध गरेका थिए ।
भारतसँगको सीमाको रानीदेखि विराटनगरको ढाटसम्म कोसी राजमार्गमा गुड्ने सिटी सफारीलाई रोक लगाइएको छ । राजमार्गमा सिटी सञ्चालन नगर्न भन्दै विराटनगर महानगरपालिकाले माइकिङ समेत गरेको थियो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक सुमन न्यौपानेले राजमार्गमा सिटी रिक्सा चल्न रोक लगाइएको बताए । विराटनगरमा दुई हजार सिटी रिक्सा दर्ता छन् । तर आठ हजार रिक्सा चल्ने गरेको अनुमान गरिएको छ ।