इटहरी । भाद्र शुक्ल तृतीया अर्थात आज हरितालिका (तीज) महादेवको विशेष पूजा आराधना गरी मनाइँदैछ । तीजमा अघिल्लो दिन राति ‘दर’ खाने र भोली पल्ट निराहार व्रत बस्ने प्रचलन रहि आएको छ । 

आज बिहानैदेखि शिव मन्दिरमा दर्शनार्थीहरूको भीड लागेको छ । आजको दिन व्रत बसी शिव–पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वास छ । 

तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौंथीका दिन गणेश भगवानको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरी तीज समापन गरिन्छ ।

सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने बरदान पाएकी थिइन् । तर पिता हिमालयले पार्वतीको इच्छाविपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरूलाई आफ्नो समस्या सुनाइन् । 

teej 1

पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरूले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरूले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई प्राप्त गरेको बताइन्छ ।

यसरी पार्वती साथीहरूद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिका (तीज) को व्रत लिने प्रचलन शुरू भएको धर्मशास्त्रीय मत रहेको रहेको छ ।

teej 3

तीजमा महिलाहरुले नाचगान गरी मनाउने गर्दछन् । तीजको अवसरमा विभिन्न शिव मन्दिरहरुमा महिलाको ठूलो उपस्थितमा भजनकिर्तन सहित नाचगानका कार्यक्रम आयोजना गर्ने गरिन्छ ।