विराटनगर । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले अनशन बस्ने बताएपछि जिल्ला प्रशासन कार्यालय मोरङले निषेधाज्ञा जारी गरेको छ । 

 पूर्व मुख्यमन्त्री केदार कार्कीले आज दिउँसो ४ बजेदेखि प्रदेश सभा अगाडि अनशन बस्ने जनाएका छन् । 

आफु मुख्यमन्त्री हुँदा सुरु गरेका योजनाहरुको निरन्तरताको माग गर्दै प्रदेश सरकार विरुद्ध अनशन बस्ने पूर्वमुख्यमन्त्रीले बताए पछि प्रशासनले एक घण्टा अघि बाटै निषधित क्षेत्र तोकेको हो । 

जिल्ला प्रशासन कार्यालयको आज बसेको बैठकले आज(मंगलबार) दिउँसो ३ बजे देखी निषेधाज्ञा लागु हुने जनाएको छ । 

जिल्ला प्रशासन कार्यालयले  विराटनगरका पाँच स्थानलाई निषेधित क्षेत्र घोषणा गर्दै सभा, जुलुस, धर्ना लगायतका गतिविधिमा रोक लगाएको जनाएको छ । 

प्रशासनले जारी गरेको सूचनामा कोशी प्रदेशसभा सचिवालयको कार्यालय क्षेत्र रहेको देवकोटा चोकदेखि अस्पताल चोकसम्म, मुख्यमन्त्री कार्यालय रहेको रोडशेष चोकदेखि जतुवा चोकसम्म, कोशी प्रोजेक्टस्थित मुख्यमन्त्री निवास वरपर, प्रदेश प्रमुखको कार्यालय र निवास वरपरको ३०० मिटर क्षेत्र र जिल्ला प्रशासन कार्यालय मोरङ क्षेत्रलाई निषेधित क्षेत्र तोकिएको जनाइएको छ ।

cdo office morang

ती क्षेत्रमा आज मङ्गलबार दिउँसो ३ बजेदेखि अर्को आदेश नभएसम्मका लागि सर्वसाधारणको आउजाउ र सवारी साधन बाहेक कुनैपनि किसिमको सभा, जुलुस, भेला र्याली, धर्ना, प्रदर्शनी लगायतका विरोध जन्य कार्यहरू गर्न स्थानीय प्रशासन ऐन अनुसार निषेध गरिएको सूचनामा उल्लेख गरिएको छ ।

सो आदेशको उल्लङ्घन गरेमा प्रचलित कानुन बमोजिम कारवाही हुने चेतावनी पनि प्रशासनले दिएको छ ।