विराटनगर । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले अनशन सुरु गरेका छन् ।  उनले आफू मुख्यमन्त्री हुँदा सुरु गरेका योजनाहरू कटौती गरेको भन्दै आजबाट अनशन सुरु गरेका हुन् ।

उनी प्रदेश सभा अगाडि बनस्खण्डी मन्दिर अगाडि अनशन सुरु गरेका हुन् । यस अघि उनले प्रदेश सभा अगाडि अनशन बस्ने बताएका थिए । पूर्व मुख्यमन्त्री कार्की अनशन बस्ने घोषणा गरेपछि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको थियो । निषेधाज्ञा जारी भएपछि उनले निषेधित क्षेत्र भन्दा बाहिर अनशन सुरु गरेका हुन् । 

पूर्व मुख्यमन्त्री कार्कीले  कटौती गरेको भनिएका अधिकांश कार्यक्रम भने यस वर्ष पनि प्रदेश सरकारले सञ्चालन गर्ने गरी बजेट विनियोजन गरेको छ । 

यो वर्ष उनी नेतृत्वको सरकारले भन्दा बढी बजेट हालिएका कार्यक्रममा समेत पूर्व मुख्यमन्त्री कार्कीले कार्यक्रम कटौती गरेको दाबी गरिरहेका छन् । 

पूर्व मुख्यमन्त्री कार्कीले दश वर्ष मुनिका बालबालिकाकाका लागि विशिष्टीकृत सेवासहित निःशुल्क उपचार कार्यक्रम कटौती गरिएको दाबी गरेका छन् । 

उनले प्रदेश सरकरले ल्याउने बजेटमा २५ लाखभन्दा तलका आयोजना नराख्ने नीति भए पनि २५ लाख रुपैयाँ भन्दा कमका योजनाहरू पनि हालेको भन्दै सच्याउन माग गरेका छन् । उनले शैलजा आचार्य हृदय रोग उपचार केन्द्रको सञ्चालन गर्न बजेट नहालेको दाबी गरेका छन् । 

पूर्व मुख्यमन्त्री कार्कीले  महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता कार्यक्रम यो सरकारले काटेको भन्दै आफू अनसनमा बस्ने बताएका हुन् । 

यसै गरी उनले वर्तमान सरकारले घिउ तथा धुलो दूधको निर्यातमा प्रोत्साहन रकम वितरण कार्यक्रम रोकेको, सुनसरी मोरङ केसलिया कोरिडोरको विकास कार्यक्रम रोकेको, कृषि र प्राविधिक शिक्षाका विद्यार्थीलाई छात्रवृत्ति कार्यक्रम रोकेकाले अनसनमा बस्नु परेको दाबी  

उनले डाक्टर, इन्जिनियर लगायत विभिन्न विधाका विद्यार्थीलाई छात्रवृत्ति कार्यक्रम रोकिएकाले आफू अनसनमा बस्ने बताए । 

उनले जनावरमैत्री जङ्गल कार्यक्रम समेत सरकारले हटाएकाले बजेट संशोधन गरेर थप्नु पर्ने माग राखेका छन् । 

उनले भने, जनहितकारी एवम् समाजवादी कार्यक्रमलाई निर्ममताका साथ कटौती गरिएको छ । आर्थिक मामिला तथा योजना राम राना मगरले बजेट प्रस्तुत गर्नुभएपछि यसप्रति व्यापक असन्तुष्टि उत्पन्न भएको हो । 

यसपछि माननीय सभामुखजीसित सर्वदलीय बैठक भयो । उक्त बैठकमा तपाई स्वयंले बजेट सच्याउने लिखित प्रतिबद्धता गर्नुभएको थियो । तर त्यस प्रतिबद्धतालाई रद्दीको टोकरीमा फ्याँकेर तपाई आफ्नै मनमानी शैलीमा काम गरिरहनुभएको छ ।’

उनले  यसका विरुद्धमा प्रदेश सभामा पटक–पटक आवाज उठाउँदा वर्तमान प्रदेश सरकार सुनेको नसुन्यै गरेपछि अनसन बस्ने निर्णयमा पुगेको छु ।