विराटनगर । निषेधित क्षेत्रमा अनशन सुरु गरेका कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले ठाउँ परिवर्तन गर्दै अनशनलाई निरन्तरता दिएका छन् ।
आज दोस्रो दिन पनि उनको अनशन जारी छ । तर ठाउँ भने परितर्वन भएको छ । जिल्ला प्रशासनले तोकेको निषेधित क्षेत्र भन्दा बाहिर विराटनगरको देवकोटा चोकमा उनी अनशन बसेका छन् ।
मंगलबार दिउँसो ४ बजेबाट कोशी प्रदेश सभा सचिवालयको गेट अगाडि उत्तरतर्फ बनसखण्डी महादेव मन्दिर नजिक निषेधित क्षेत्र भित्र अनशन बसेका थिए । निषेधित क्षेत्रमा अनशन बसेपछि राती प्रहरीले उनलाई त्यहाँबाट हटाएर घरमा लगेर छाडेको थियो ।
प्रहरीले छाडेपछि उनी पुन यहाँ आएर अनशन बसेका हुन । निषेधित क्षेत्रमा अनशन बसेपछि प्रहरीले बल प्रयोग गर्दै त्यहाँबाट हटाएको थियो । सो क्रममा कार्कीका समर्थक र प्रहरीबीच झडप पनि भएको थियो । निषेधित क्षेत्र छाड्न नमानेपछि पूर्वमुख्यमन्त्री कार्कीलाई प्रहरीले बोकेर निकालेको थियो ।
पूर्वमुख्यमन्त्री कार्की अनशन बस्ने बताएपछि जिल्ला प्रशासन कार्यालय मोरङले दिउँसो ३ बजे देखी नै निषेधाज्ञा जारी गरेको थियो ।
पूर्वमुख्यमन्त्री कार्कीले आफुले सुरु गरेका जनउत्तरदायी योजना तथा कार्यक्रहरु वर्तमान सरकारले कटौती गरेको आरोप लगाउँदै निरन्तरता दिन माग गर्दै आएका छन् ।
उनले विभिन्न ९ बुँदे मागहरु अघि सारेका छन् ।
कार्कीले विशिष्टीकृत सेवासहित १० वर्षमुनिका बालबालिकाकाको निःशुल्क उपचार कार्यक्रमलाई नियमित गर्नुपर्ने, बजेटमा २५ लाखभन्दा तलका आयोजना नराख्ने नीति लिनुपर्ने, शैलजा आचार्य हृदयरोग उपचार केन्द्र संचालन गर्नुपर्ने रहेको छ ।
यस्तै महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता उपलब्ध गराउनुपर्ने, घिउ तथा धुलो दूधको निर्यातमा प्रोत्साहन रकम वितरण कार्यक्रम यथावत राख्नुपर्ने, सुनसरी–मोरङ केसलिया करिडोरको विकास कार्यक्रममा पर्याप्त बजेट दिनुपर्ने, कृषि र प्राविधिक शिक्षाका विद्यार्थीलाई छात्रवृत्ति दिनुपर्ने, डाक्टर, इन्जिनियरलगायत विभिन्न विधाका विद्यार्थीलाई छात्रवृत्ति दिनुपर्ने र जनावरमैत्री जंगल निर्माण गर्नुपर्ने माग राखेका छन् ।।