विराटनगर । नेपाली काँग्रेसका प्रदेश सभा सदस्य केदार कार्कीले थालेको अनसनलाई नेकपा एमालेले प्रदेश सभालाई लज्जित बनाउने काम गरेको भन्दै प्रदेश सभामा प्रश्न उठाएको छ। कोशी प्रदेश सभाको बुधवारको बैठकमा नेकपा एमाले दलको तर्फबाट विशेष समय लिएर बोल्दै प्रदेश सभा सदस्य तिलचन पाठकले कोशी प्रदेशमा अनसनको नाममा प्रदेश सभा सदस्य केदार कार्कीबाट भएको नौटङ्कीले लज्जित र गम्भीर बनाएको बताए । अनसनको नाममा भएको अराजक हर्कतले संसदीय मूल्यमान्यताको धज्जी काढ्ने काम भएको भन्दै प्रदेश सभामा जानकारी गराएका हुन् । संविधान धारा १८७ मा भएको व्यवस्था अनुसार यस्तो हर्कत गर्ने व्यक्ति उपर विशेष समिति बनाएर छानबिन र कारबाही गर्नु पर्ने उनले माग राखे । ‘पूर्व मुख्यमन्त्री समेत भई सकेका कार्कीबाट संसदीय मर्यादाको धज्जी उडाउने काम भएको छ, उनले भने, गत आर्थिक वर्षमा रातो किताबमा आएका योजनाहरू कटौती गर्ने काम कसले गरेको हो, उहाँले मुख्यमन्त्री भएको बेला काटेको हैन ? के त्यसो भए सबै माननीय ज्युहरू त्यसरी अनसन बस्नु पर्थ्यो ?’ प्रदेश सभा सदस्य पाठकले कार्की मुख्यमन्त्री र स्वास्थ्य मन्त्री रहेको बेलामा २ करोड भन्दा बढी भुक्तानी दिन बाँकी रहेको, फर्जी बिल विवरण पेस गर्ने काम केदार कार्कीबाट नै भएकोले यसको जवाफ पनि उनैले दिनु पर्ने बताए ।
‘सरकार बनाउने प्रक्रिया अनुसार बहुमतले सरकार बनाउँछ, बजेट ल्याउँछ कार्यान्वयन गर्छ, प्रदेश सभा सदस्य पाठकले भने, सोही अनुसार सरकार बन्यो, बजेट ल्यायो । बजेट प्रति केही औचित्यहीन विषय बनाएर प्रदेशका विषयमा भ्रम फैलाउने र अन्योल सिर्जना गर्ने काम गरिएको छ।’ बजेटका नामबाट जनतालाई भ्रममा पारेर अन्यौलता सिर्जना गर्ने काम केदार कार्कीबाट भएकोले यो विषयलाई प्रदेश सभाले गम्भीर रूपमा लिनु पर्ने बताए ।
प्रदेश सभा सदस्य केदार कार्कीले अनसन बसेका विषयहरूमा कुनै पनि बजेट अहिलेको सरकारले नकाटेको र बजेट बढाएर जिल्ला जिल्लामा नै कार्यक्रमहरू पुगेको उनले सदनलाई जानकारी गराए । १० वर्ष मुनीका बालबालिकाको निःशुल्क विशेषज्ञ सेवा, महिला स्वास्थ्य स्वयम सेविकालाई प्रोत्साहन, शैलजा आचार्य हृदय रोग केन्द्र सञ्चालन र व्यवस्थापन लगायतमा प्रशस्त बजेट विनियोजन भएको रेड बुकमै रहेको भए पनि लास्ट बेन्चर भएकै कारण अध्ययन नपुगेको समेत टिप्पणी गरे ।
आफ्ना निर्वाचन क्षेत्र लगायतका आफु मुख्यमन्त्री भएको बेलाका योजनाहरु कटौती भएको भन्दै कार्की मंगलवार साँझदेखि आमरण अनसनमा छन् ।