इटहरी । पूर्वमुख्यमन्त्री केदार कार्कीले ल्याएका योजनाहरु आफुले खारेज नगरेको वर्तमान मुख्यमन्त्री हिक्मत कुमार कार्कीले दावी गरेका छन् ।
आफ्ना योजनाहरुको निरन्तरताको माग राख्दै पूर्वमुख्यमन्त्री केदार कार्की मंगलबार देखी अनशनमा बसेका छन् ।
तर पूर्वमुख्यमन्त्री कार्कीले खारेज गरिएको भनी सार्वजनिक गरेका कुनै पनि योजनाहरु आफुले खारेज नगरेको मुख्यमन्त्री हिक्मत कुमार कार्कीले दावी गरेका हुन ।
सुनसरीको इटहरीमा यातायात व्यवस्था कार्यालयले आजबाट वितरण सुरु गरेको अस्थायी सवारी चालक पत्र (लाइसेन्स) वितरण कार्यक्रममा सञ्चारकर्मी कुराकानी गर्दै मुख्यमन्त्री कार्कीले यस्तो दावी गरेका हुन ।
मुख्यमन्त्री कार्कीले भने, ‘उहाँले जुन माग सार्वजनिक गर्नुभएको छ, ती मागहरुका विषयमा हामीले कुनै पनि योजनाहरु खारेज गरेका छैनौ ।’
उनले भने, ‘उहाँले जुन पाँच सात वटा योजना सार्वजनिक गर्नु भएको छ । ती सबै योजना छन् ।’
मुख्यमन्त्री कार्कीले प्रहरीले पूर्वमुख्यमन्त्री केदार कार्कीलाई गरिएको धरपकडका विषयमा भने कुनै प्रतिक्रिया दिएनन् ।
यातायात व्यवस्था कार्यालय इटहरीमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्धारा आयोजित अस्थायी सवारी चालक अनुमति पत्र वितरण कार्यक्रममा पनि मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले गरेका राम्रा कामलाई आझेलमा पार्दै भ्रम फैलाउन खोजिएको आरोप लगाएका थिए ।
प्रदेश सरकारले राम्रो काम गरिरहेको भएपनि त्यसलाई ओझेलमा पार्न दुस्प्रचारका कामहरु भएको उनले बताए ।
मुख्यमन्त्री कार्कीले सञ्चारकर्मीलाई पनि प्रदेश सरकारले गरेका राम्रा कामको प्रचार गर्न आग्रह गरेका थिए ।