विराटनगर । कोशी प्रदेश सभाको विषयगत समितिका सभापतिहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्  । कोेशी प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरू मध्येबाट विषयगत समितिमा एक–एक जनाको मात्र उम्मेदवारी परेपछि विषयगत समितिको सभापति सर्वसम्मत चयन भएको  कोशी प्रदेश सभाका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए । 
सम्बन्धित विषयगत समितिको बैठकले सबै समितिको सभापति सर्वसम्मत भएको निर्णय गरिएपछि सभापतिहरूले पद तथा गोपनीयताको शपथ लिएका हुन् । सर्वसम्मत भएका समितिको सभापतिहरूमा कमला दर्नाल न्याय प्रशासन तथा विधायन समिति, खगेश्वरी पौडेल सुशासन तथा योजना समिति , विनोद राई अर्थ समिति, राजन किराँती सार्वजनिक लेखा समिति, गयानन्द मण्डल सार्वजनिक लेखा समिति, रामदेव यादव उद्योग पर्यटन तथा वातावरण समिति र होमबहादुर थापा पूर्वाधार विकास तथा प्राकृतिक स्रोत समितिमा सर्वसम्मत भएका हुन् ।  नव निर्वाचित विषयगत  समितिका सभापतिहरूलाई कोशी प्रदेश सभाका सभामुख अम्बरबहादुर विष्टले पद तथा गोपनीयताको शपथ गराएका हुन् । शपथ ग्रहण पछि कार्यक्रमलाई सम्बोधन गर्दै  विष्टले  सभापति चयनमा भएको सर्बसहमतीको विषयले एक पटक कोशी प्रदेशले नयाँ सन्देश दिएको बताए ।  सरकारले गरेको काम कारबाहीको बारेमा नियमन, अनुगमन, खबरदारी गर्ने काममा समितिको भूमिका हुने बताए । लामो समयदेखि प्रदेश सभा भित्रको विषयगत समितिका काम प्रभावित हुँदै आएकोमा सभापति पाएपछि  समितिहरू गतिशील हुने उनले विश्वास व्यक्त गरे ।