विराटनगर । मोरङको ग्रामथान गाउँपालिका–४ बाट जुवा खेलिरहेको अवस्थामा पालिकाका पूर्व अध्यक्षसहित ९ जना पक्राउ परेका छन् । प्रहरीले छापा मार्दा उनीहरूको साथबाट १८ लाखभन्दा बढी नगद बरामद भएको छ । बाँस घारीभित्र बनाइएको टहरामा जुवा खेलिरहेको अवस्थामा प्रहरीले शनिवार राति ८ बजेतिर छापा मारेको थियो ।
जुवा खेलिरहेको अवस्थामा ग्रामथान गाउँपालिकाका पूर्व अध्यक्ष शिवनारायण माझी, महोत्तरीको गौशाला नगरपालिका–१ का महेश साह, सुनसरीको धरान उपमहानगरपालिका–१५ का ४ युवक राई, दुहबी नगरपालिका–६ का जय किशोर साह पक्राउ परेको प्रहरीले जनाएको छ । यस्तै झापाको दमक नगरपालिका–१० का ऋतुवर्ण नेम्वाङ, मोरङको सुन्दरहरैँचा नगरपालिका–१ का जनककुमार मास्के, सोही ठाउँका प्रताप राई, ग्रामथान–४ का अहिलाल माझी र लेटाङ नगरपालिका–९ का लोकनाथ सापकोटा पक्राउ परेका हुन् ।
माझी २०७४ सालको स्थानीय तहको निर्वाचनमा पालिका अध्यक्षमा विजयी भएका थिए । पक्राउ परेकाको साथबाट र जुवा खालबाट १८ लाख ५१ हजार ५ सय रुपैयाँ नगद बरामद भएको छ । यस्तै १६ थान कौडा, १२ बुक तास, पैसा राख्न प्रयोग गरिने काठको बाकस, झोला, १५ वटा मोबाइललगायत बरामद भएको मोरङका प्रहरी प्रमुख एसपी नवराज कार्कीले बताए ।
उनका अनुसार जुवा खालबाट १७ लाख २९ हजार ५ सय र पक्राउ परेकाको साथबाट थप १ लाख २२ हजार रुपैयाँ बरामद भएको हो ।