विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले असोज २ गते विश्वासको मत लिने भएका  छन् । नेकपा माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्री बन्नु भएका कार्कीले माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि दोश्रो पटक विश्वासको मत लिन लागेका हुन् ।

माओवादीले भदौ १४ गते समर्थन फिर्ता लिएको थियो । सत्ता गठबन्धन परिवर्तन भएसँगै कोशी प्रदेशमा गएको साउन ११ गते माओवादीले कोशी प्रदेशमा सरकारबाट बाहिरीएको  थियो । सत्ता गठबन्धन परिवर्तन भएपछि अहिले कोशी प्रदेशमा  नेकपा एमालेको नेतृत्वमा बनेको सरकारमा काँग्रेस सहभागी भएको छ । संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्रीमा नियुक्त  भएका कार्कीले दोश्रो पटक लिन लागेको विश्वासको मत लिँदैछन् ।

९३ सदस्यीय कोशी प्रदेश सभामा मुख्यमन्त्री कार्कीको दल नेकपा एमालेका ४० सांसद छन् भने सत्ताघटक काँग्रेसका २९ सांसद रहेका छन् ।  कोशी प्रदेश सभामा माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद छन् ।  गत बैशाख २७ गते मुख्यमन्त्री नियुक्त हुनु भएका कार्कीले पहिलो पटक बैशाख  ३१ गते विश्वासको मत लिनु भएको थियो ।