विराटनगर । निर्वाचनका बेला जनताका माझामा जाँदा विराटनगर महानगरका मेयर नागेश कोइरालाले शिक्षा, स्वास्थ्य, सरसफाइ र सुशासनको मुद्दालाई प्राथमिकतामा राखेका थिए । उनले आफू विजयी भए आफू नेतृत्वको महानगरले विराटनगरको सर सफाइमा सुधार ल्याउने बाचा गरेका थिए । उनले प्रत्येक वडाको कम्तीमा एउटा सामुदायिक विद्यालय सुधार गर्ने र ती विद्यालयमा निजी विद्यालयमा जस्तै अभिभावकको आकर्षण बढाउने प्रतिबद्धता जनाएका थिए । उनले आफू विजयी भए विराटनगरलाई प्रदेशको शिक्षा र स्वाथ्यको हब बनाउने सपना मतदाता माझ बाँडेका थिए । निर्वाचनका बेला मत माग्न जाँदा उनले कर्मचारी प्रशासनमा सुधार ल्याउने आश्वासन बाँडेका थिए । आफू मेयरमा विजयी भएसँगै श्वेतपत्र जारी गरेर उनले काँग्रेस नेतृत्वको अघिल्लो सरकारको समेत आलोचना गरेका थिए । ७९ भदौ ९ गते श्वेत पत्र जारी गर्दै महानगरका मेयर कोइरालाले सार्वजनिक सम्पत्तिको संरक्षण र दरबन्दी बिना राजनीतिक पहुँचका भरमा भर्ती गरिएका कर्मचारी हटाउने घोषणा गरेका थिए । महानर बासीका बिचमा यिनै र यस्तै सपना बाँडेर विजयी भएका मेयर कोइरालाको आधा कार्यकाल बितिसकेको छ । उनको आधा कार्यकाल बित्दा आफैले गरेको निर्णय कार्यान्वयन गर्न नसकेको आरोप उनी माथि लाग्ने गरेको छ । यस्तै कर्मचारी भर्नामा राजनीतिक दबाब र प्रभावबाट मेयर कोइराला उम्किन नसकेको भन्दै आलोचना पनि हुने गरेका छन् । उनले भने जस्तै महानगरको सार्वजनिक सम्पत्तिको सरक्षणका विषयमा महानगरको ठोस योजना नआएको, आफू निकटकालाई वितरणमुखी योजना बाँडेको आरोप उनी माथि लाग्ने गरेको छ ।
यहाँको आधा कार्यकाल सकिएको छ । आधा कार्यकाल विताँउदा बाहिरबाट देखेको महानगर र आफैले नेतृत्व गरेको महानगरमा के फरक पाउनु भयो ?
हिजो निर्वाचित भएर अउदा जुन तरिकाको उत्साह उमङ्ग थियो त्यो कमी भएको छ । हिजो महानगरबासीले सोचेका चाहेका सबै काम भ्याउँछु भन्ने लागेको थियो । साधन श्रोत सीमित भएको र महानगरवासीको चाहाना असीमित भएका कारण सबै काम गर्न सकिरहेको छैन । जति मैले इच्छा गरेको थिए त्यति काम गर्न सकेको छैन । मलाई आफूलाई पनि मैले सोचे जस्तो काम गर्न सकिरहेको छैन भन्ने महसुस भइरहेको छ । महानगरमा हामीले गर्न चाहेका योजना थुप्रै छन् । तर श्रोत एक दमै कम छ । परार हामीले ६४ करोड ६ लाख रुपैयाँ आन्तरिक आम्दानी गरेका थियौ । यसपालि ६२ करोडमा छ । यति पैसाले हामीले चाहेको योजनाहरू सुरु गर्न सकेका छैनौ । एउटा क्षेत्रलाई मात्रै प्राथमिकतामा राखेर हुँदो रहेनछ । शिक्षालाई पनि दिन प¥यो । स्वास्थ्यमा पनि छुट्टाउनु प¥यो । भौतिक पूर्वाधारमा सबै भन्दा बढी जनताको माग छ । वडामा पैसा पठाउन पर्छ । सिमित श्रोतले प्राथमिकतामा रहेका सबै कामलाई कसरी अगाडि बढाउने भन्ने तर्फ सधैँ हाम्रो ध्यान गइरहेको छ ।
यो अवधिमा के काम गर्नु भयो ? हिजो निर्वाचनमा गरेका बाचा र घोषणा पत्र सम्झिनु भएको छ ?
मैले हिजो जनताका बिचमा जाँदै गर्दा विराटनगर महानगरलाई सफा बनाउँछु भनेको थिए । म आउनु भन्दा अगाडि र आएपछि के फरक भयो भनेर तपाँइहरुले पनि महसुस गर्नु भएको छ । मैले ठुलो ठुलो काम गर्छु भनेको थिइन । महानगर सफा बनाउँछु भनेको थिए । परिणाम आइरहेको छ । महानगर वासीले सरसफाइका विषयमा राम्रो फिडब्याक दिनु भएको छ । हामीले सबभन्दा ठुलो फोकस सरसफाइमा दिएका छौ । हाम्रो फोकसले हिजोको भन्दा सरसफाइ राम्रो भएको छ भन्ने मेरो दाबी छ । हामीले बिसौँ वर्षदेखि सफा नभएका महानगरका नाला सफा गरेका छौ । जसका कारण विराटनगरमा बर्षायाममा हुने चुवानमा धेरै कमी आएको छ । हिजो डुबानको समस्या कस्तो थियो ? आज कस्तो भयो ? यद्धपी हामीले फोहोर उठाए पनि त्यसको दिगो व्यवस्थापनको काम भने गर्न सकेका छैनौ । डम्पिंग साइडमा लगेर फ्याँक्ने काम गरेका छौ । डम्पींग साइडको फोहोर पनि व्यवस्थापन गर्न सके दिगो रूपमा सरसफाइका लागि कोशेढुंगो बन्थ्यो । त्यो काम हामीले गर्न सकेका छैनौ । हामीले त्यो दिशा तर्फ अगाडि बढ्न तीन चार वटा कम्पनीसँग कुरा आगाडि बढाएका छौ । एडिबी, कोरियन एजेन्सी, चाइनिज एजेन्सी र इन्डियन एजेन्सीसँग पनि कुरा गरिरहेका छौ । अव कस्ले पहिलो प्राथमिकतामा राखेर कुरा गर्छ त्यो अनुसार प्लान्ट लाउने छौ ।
हिजो हामी आउँदा विराटनगर महानगरका सामुदायिक विद्यालय जुन तरिकाले चल्थ्यो आज त्यो भन्दा धेरै भिन्न भएको छ । हिजोको एडमिसन गर्ने परिपाटी र आजको परिपाटीमा धेरै फरक आएको छ । हिजो हामी आउँदा विराटनगर महानरका तीन वटा सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण थियो । तीन वटा सामुदायिक विद्यालयमा मात्रै विद्यार्थी जान चाहन्थे । आजको दिनमा बजार भित्रका सबै सामुदायिक विद्यालयमा विद्यार्थी अबिभावकको आकर्षण बढेको छ । बजारका सामुदायिक विद्यालयहरू संस्थागत विद्यालयको हाराहारीमा आएको छ । त्यो भर्नाका बेला विद्यार्थीको रुझानले देखाउँछ । संख्ष्यामा सामुदायिक विद्यालयमा विद्यार्थीको चाप बढेको छ । सामुदायिक विद्यालयमा भर्ना गराउन आज सोर्स लगाउनु पर्ने अवस्था आएको छ । यो मेरो दाबी हो तपाइले पनि तथ्याङ्कमै हेर्न सक्नु हुनेछ । अघिल्लो वर्ष हामीले महानगरका सबै विद्यालयका सबै कोठमा पङ्खा हाल्ने काम ग¥यौ । हामीले आफै पङ्खा वितरण गरेपछि सबै कक्षा कोठामा पङ्खका व्यबसथा भएको छ । यो साल छात्राहरूका लागि मैत्री हुने शौचालय बनाउन बजेट विनियोजन गरेका छौ । सबै विद्यालयमा छात्रा मैत्री शौचालय बनाउँछौ ।
तपाइले हिजो बजारका मात्रै होइन हरेक वडाका एउटा विद्यालय मेरै कार्यकालमा बनाउँछु भन्नु भएको होइन ? बजारमा निजीका विद्यार्थी लगेर अङ्ग्रेजीमा पढाएर महानगरका संस्थागत विद्यालय सुध्रिए भन्न मिल्छ ?
सबै कुरा एकै पटक राम्रो हुँदैन । हामीले आएर सुरु गरेपछि तीन वटाबाट बढे नि । हामी बजारमा मात्रै होइन सबै वडामा सामुदायिक विद्यालय सुधार्न लागेका छै । विद्यालय सुधार्छु भनेर मात्रै हुँदैन । विद्यालयको नैतिक पूर्वाधार पनि राम्रो बनाउनु पर्छ । हामीले महानगरको छुट्टै पाठ्यक्रम बनाएका छौ । शिक्षकहरूलाई दण्ड सजायको व्यबथालाई कडाइका साथ अगाडि बढाएका छौ । महानगर अन्तरगतका शिक्षकहरूको हामीले सालै पिच्छे मूल्याङ्कन गर्ने व्यवस्था गरेका छौ । शिक्षकको मूल्याङ्कनका आधारमा स्कुलको दण्ड जरिमाना गर्न थालेका छौ । विद्यालयमा शौचालयको अवस्थालाई सुधार र शौचालयको सरसफाइको अवस्थालाई हामीले फेरेका छौ । हामी विद्यालय सुधार्ने विषयमा लयमा छौ । हाम्रो प्रयत्न जारी छ ।
यहाँ मेयरको लागि उम्मेदवार भइरहँदा विराटनगर महानगरलाई प्रदेशकै स्वास्थ्य हब बनाउँछु भन्नु भएको थियो होइन ? विराटनगर महानगर भित्र ठुला ठुला अस्पताल छँदै छन् ती अस्पतालका कारण हब बन्छ भन्ने लागेर हो की महानगरले पनि काम गर्ने भनेर हो त्यसो भन्नु भएको ?
स्वास्थ्यको क्षेत्रमा हामीले काम गरेका र्छौ । कोशी अस्पतालमा अथवा प्राइबेटइन्सिटच्युनमा जाँदा अल्ट्रा साउन्डको १५ सय रुपैयाँ तिर्नु पर्छ । महानगरका स्वास्थ्य चौकीहरूमा ५ सय रुपौयँमा पाउने व्यवस्था गरेका छौ। हामीले महानगरका स्वास्थ्य चौकीहरूमा फिजियोथेरापीको सेवा दिएका छौ । हामीले १५ नम्बर वडामा यो सेवा निःशुल्क दिएका छौ । नेपाल सरकारलाई रानी र झापा बैजनाथपुरमा भएको हेल्थ सेन्टरलाई १५ बेडको अस्पतालमा विस्तार गर्ने भनेका छौ । यस्तै विगतको पाठ सिक्दै विराटनगर र उर्लाबारीमा भएको आग लगिका कारण मानिसहरू मरे । महानगरले बर्न अस्पताल बनाउनका लागि प्रस्ताव गरेको छ । यी दुवै हेल्थ सेन्टरलाई बर्न अस्पतालको रूपमा विकास गर्न साझेदारी गर्नै खोजेका छौ । किर्तीपरको बर्न अस्पतालसँग समन्वय गरेर दुवै हेल्थे सेन्टरमा बर्न अस्पतालका लागि बेड बनाउने निर्णय गरिसकेका छौ । स्वास्थ्य मन्त्रालयलाई हामीले चिठी लेखेका छौ । स्वास्थ्यले अर्थ मन्त्रालयलाई पत्राचार गरेको छ । नेपाल सरकारले निर्णय गर्ने बित्तिकै हामी काम थाल्छौ ।
विराटनगर महानगरले वितरणमुखी योजना बाँड्यो । आफ्ना आसेपासेलाई खुसी पार्न महानगर लाग्यो भन्ने आलोचना हुन थालेको छ । यहाँलाई यस्तो लाग्दैन ?
हामीले यसरी काम गरेका छैनौ । हामीले महानगरको आवश्यकतालाई हेरेर काम गरेका छौ योजना बना छौ । तपाँई आकाशबाट राती हेर्नु भो भने सबभन्दा उज्यालो ठाउँ जुन देख्नु हुन्छ त्यो विराटनगर हुने छ । हामीले विराटनगरको सडक बत्तीको व्यवस्थापन गरेका छौ । तपाईँ राती १२ बजे गाडीमा विराटनगर छिर्नु भो भने गाडीको बत्ती चाहिँदैन । सडक बत्तीको भरमा महानगरको हरेक टोल र घरमा पुग्न सक्नु हुन्छ । हामीले बहुबर्षीय योजनाहरू प्नि गरिरहेका छौ । हामीले विराटनगरमा यो वर्ष ५ स्थानमा ट्राफिक लाइट लाउने भनेका छौ । यसको काम सुरु गरिसकेका छौ । चाँडै कञ्चनवारि, घाँस चोक, जलजला चोक, तीन पैनी र रोड शेषमा ट्रफिक बत्ती हाल्ने छौ । यसको काम भइरहेको छ । १५ दिन भित्रमा यो सुचारु नै हुन्छ । हामीले महानगरको २ नम्बर वडामा सन्ध्याकालीन आरतीको योजना अगाडि बढाएका छौ । यो हनुमान मन्दिरमा सन्ध्याकालीन आरतीका लागि कन्स्ट्रक्सन काम गरिरहेका छौ । १८ करोडको लागतमा प्रधानमन्त्री पार्क बनाउने काम गरिरहेका छौ । तीन वटा पोखरीको सौन्दर्यीकरणको काम गरिरहेका छौ । ऐतिहासिक र पुरातात्त्विक विराट राजाको दरबार क्षेत्रमा रहेको पोखरीको सौन्दर्यीकरणको काम गरिरहेका छौ । मन्ता पोखरी र रानी पोखरीको सौन्दर्यीकरणको काम पनि भइरहेको छ ।
एक नम्बर वडाको बाल उद्यानलाई पनि हामीले पौडी पोखरी सहितको पार्क बनाइरहेका छौ। जहाँ बच्चाहरूले खेल्न कुद्न सक्नेछन् । यो बाहेक किसानहरूका लागि हामीले काम गरेका छौ । मल बिउ वितरणको काम गरेका छौ । विराटनगर महानगरमा उप प्रमुखको नेतृत्वमा देशमै नमुना न्यायपालिकाको काम गर्नु भएको छ भन्ने म दाबी गर्न सक्छु । मलाई लाग्छ नेपाल भरिकै इफेक्टीभ न्याय पालिका विराटनगर महानगर पालिकाको बनेको छ ।
यहाँहरूले धेरै कार्यक्रमहरू अगाडि बढाउने निर्णय गर्नु भयो । कार्यक्रमहरू अगाडि बढाएर पनि ब्याक फर्कनु भयो । सुरुमा विराटनगरको बजार क्षेत्रमा पार्कींग निषेध भन्नु भयो । अहिले सडकमै पार्कींग गर्न दिइरहनु भएको छ ।
यसमा मेरो रिजर्भेसन छ । तपाइले जसरी बुझ्नु भएको छ । मैले जसरी बुझाउन खोजिरहेको छु तपाइले नबुझे जस्तो लाग्यो । म जनताबाट मत पाएर निर्वाचित भएको मान्छे हो । म जुन ठाउँमा जान्छु मलाई नगर पिता भन्छन् । अव व्यपारीहरु पनि त यही महानगरको नागरिक हो । यहिको मान्छेहरू हो नि । अव महानगरले बजारको सडकबाट पार्कींग हटाउँदाखेरि हाम्रो व्यपारीहरु सटर बन्द भयो भन्नु थाल्नु भयो । मेयर साबले हेर्न प¥यो भन्नु भयो । मोटरसाइकल पार्कींग गर्न नपाउँदा व्यापार भएन भन्नु भो । उहाँहरूलाई समस्या भएको कुरा सुनेर हामीले पार्कींग खोलेको हो । मैले पार्कींग खोलेपछि हाम्रो व्यापार फस्टायो भनेर स्याबासी दिनु भयो । मैले जे गरे ठिक गरे जस्तो लाग्छ । हामीले गरेका सबै निर्णय जनताका लागि ठिक नहुन सक्छन् । जनतालाई ठिक लागेन भने त्यो निर्णय किन र कस्का लागि गर्न प¥यो । नेपालको संविधान त परिवर्तन हुन्छ । संशोधन हुन्छ । संविधान संशोधन हुन्छ भने हामीले गरेको निर्णय पनि त कुनै लकिर होइन जुन बद्लिँदैन । हामीले गरेको कुनै निर्णयले जनतालाई दुख हुन्छ भने हामी पनि सच्चिनु पर्छ । हामीले जनतालाई रिलिफ हुने काम गर्दा मान्छेहरू महानगर एक पछि अर्को निर्णयबाट पछि हट्दै भनेर भन्छन् । यसले हामीलाई केही फरक पदैन । हामीले गरेको निर्णय पत्थरको लकिर हो र ? न फेरिने ? । महानगर सबैको चित्त बुझाउँदै अगाडि बढ्छ । जनतालाई दुख भयो भने सच्चिन्छ । हामीले त्यही अनुरूपको कार्य गरेको हो।
यहाँले महानगरको कर्मचारी प्रशासन सुधारछु भन्नु भएको थियो हैन ? कर्मचारी धेरै भए आवश्यकताका आधारमा कर्मचारी भर्ना भएका छैनन् भन्नु भएको थियो । हटाउनु त भएन ?
त्यो मैले भन्दा पनि अरूले मूल्याङ्कन गर्ने कुरा हो । तर म भन्छु अहिले विराटनगर महानगरपालिका भित्रको कार्यको विषयमा कम्पलेन आएको छैन । विगतको भन्दा हामीले धेरै सुधार गरेका छौ । महानगरमा वर्षौँदेखि जरो गाडेर बसेका कर्मचारीहरूको हामीले सरुवा गरेका छौ । क्षमताका आधारमा हामीले कर्मचारीलाई जिम्मेवारी दिएका छौ नकी सम्बन्धका आधारमा । महानगबासीले मूल्याङ्कनको कुरा हो । अव केही कम्पलेन आएको छ खागसरि वडामा कर तिर्ने विषयमा । यो हाम्रा कारणले मात्रै समस्या आएको होइन । करको प्रविष्ट गर्ने सिस्टम नेपाल सरकारले दिएको सरोबरको डाटामा जाने हो । नेपाल सरकारको सरोबर डाउन हुँदा जनताले दुख पाएको कुरा आउन सक्छ । तर महानगरले दिने सेवामा अहिले समस्या छैन । कमी कमजोरी भएको छैन ।
अव कर्मचारी धेरै भएको कुरा । यसमा हामीले जनतालाई दुख दिएको गुनासो नआइन्जेल निकाल्न पनि सकेका छैनौ । हामीसँग क्वालीटी भन्दा पनि क्वान्टीटी बढी छ । यो सुरु देखिकै कुरा हो । तर प्रक्रिया पुगेर नियुक्त भएका कर्मचारीलाई निकाल्नु पनि अस्वाभाविक हुने रैछ । तर हामीले उहाँहरूलाई कसरी कममामा लगाउने भन्ने तिर ध्यान दिएका छौ ।