इटहरी । चाडपर्वका समय यात्रुहरूलाई प्रभावकारी सेवा प्रदान गर्न यातायात मजदुरहरूले प्रतिबद्धता जनाएका छन् । नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनले काठमाण्डौं उपत्यका भरीका बुकिङ काउन्टरमा कार्यरत मजदुरहरुसंग गरेको अन्तरक्रिया कार्यक्रममा चाडबाडका समय यात्रुहरुहरुलाई सहज र सरल यात्रा गराउन यातायात मजदुरले प्रतिबद्धता जनाएका हुन् ।
सङ्गठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले प्रस्तुत गरेको अवधारणा पत्रमा सम्पूर्ण बुकिङ मजदुरहरू यात्रुमैत्री व्यवहार प्रस्तुत गर्न प्रतिबद्ध भएका हुन् । चाडबाडका बेला भिड भाड हुने र सो समयमा यातायात मजदुरका व्यवहार राम्रो नहुने आरोप लाग्दै आएको थियो । सो आरोपलाई चिर्न मजदुहरुले यात्रु मैत्री सेवा दिन प्रतिवद्धता जनाएका हुन् ।
यस्ता छन् मजदुरका प्रतिवद्धता
चाडबाडका बेला हुने भिडमा यात्रु तानातान नगर्ने र त्यस्ता कार्यलाई निरुत्साहित गर्ने, तोकिएको वा निर्धारण गरिएको भन्दा बढी भाडा नलिने प्रतिबद्धता जनाए । यस्तै अशक्त, अपाङ्गता, ज्येष्ठ नागरिक, महिला र बालबालिकालाई सहयोग र सम्मान गर्ने, परिचयपत्र तथा पोसाक लगाएर मात्रै काम गर्ने प्रतिबद्धता जनाए । यसै गरी शौचालय, खानेपानी, यात्रुका लागि बस्ने व्यवस्था, इन्टरनेटको व्यवस्था गर्ने विषयमा समेत बुकिङ काउन्टरमा कार्यरत यातायात मजदुरहरूले प्रतिबद्धता जनाएका छन् ।
उनीहरूले बुकिङ काउन्टरमा गन्तव्य स्थानको मात्रै नाम लेख्ने, बीचबाटो मै यात्रु अलपत्र हुने गरी गन्तव्य स्थान ढाँटेर टिकट नकाट्ने प्रतिबद्धता जनाएका छन् । सङ्गठनले गरेको कार्यक्रममा चक्रपथमा रहेका काउन्टरका कर्मचारीहरूले गाडी छुट्ने समय यात्रुलाई टिकट काट्ने समयमै स्पष्ट जानकारी गराउने, बुकिङ काउन्टरमा भाडा दररेटको सूचि राख्ने प्रतिबद्धता जनाएका छन् ।
यात्रुहरूको सेवाका लागि साझा प्रतिविद्धतामा काउन्टरमा डस्टबिन राख्ने, सर्वसाधारणको आवागमनलाई असर पर्नेगरि काउन्टर आसपास सवारीसाधन नराख्ने सिट नम्बर सहितको टिकट काटेर सिट नदिने जस्ता गलत काम नगर्नेमा समेत मजदुरहरूले प्रतिबद्धता जनाएका छन् । उनीहरूले सामाजिक दायित्व र सेवा भावले काम गर्ने प्रतिबद्धता जनाएका छन् ।
अध्यक्ष राईले प्रत्येक दिन उपत्यकाको आठ वटा नाकाबाट ४ हजार ९ सय सवारीसाधनहरूले उपत्यका छाड्ने गरेको र प्रत्येक दिन ५५ देखि ७० हजार यात्रुहरूले यात्रा गर्ने अवधारण प्रस्तुत गरे । उनले घटस्थापनादेखि टिकाको दिनसम्म करिब २० लाखले उपत्यका छाड्ने अनुमान रहेको र ती यात्रुहरूको सेवा मजदुरहरूको दायित्व रहेको बताए ।
कार्यक्रममा कोटेश्वर, कलङ्की, गौशाला, चाबहिल, नयाँ बसपार्क, सात दोबाटो लगायतका काउन्टरमा कार्यरत २ सय मजदुरहरूले सङ्गठनका अध्यक्ष राईले प्रस्तुत गरेका प्रस्तावमा सहमति जनाउँदै यात्रुमैत्री व्यवहारका लागि साझा प्रतिबद्धता जनाएका थिए ।
कार्यक्रममा काठमाण्डौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा एसपी विश्वराज खड्काले ट्राफिक प्रहरीको काम जरिवाना गर्ने मात्रै नभई कानुनको पालना गराउने भएको बताए । उनले आफ्नो जिम्मेवारी पुरा गर्ने क्रममा हुने अप्रिय घटनाहरूलाई सबै मिलेर निरुत्साहित गर्नु पर्ने बताए ।
कार्यक्रममा काठमाण्डौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक हिमाल थापाले चाडको बेला सवारीको चाप बढी हुने गरेकाले दुर्घटना निम्तिने खतरा हुने भएकाले चाडका बेला सडक सुरक्षाका बारे अनुशिक्षण गरे ।
कार्यक्रममा अखिल नेपाल यातायात मजदुर सङ्घका अध्यक्ष दीपक केसी, नेपाल यातायात मजदुर सङ्घका महासचिव जगन्नाथ गौतम, नेपाल लोकतान्त्रिक यातायात व्यवसायी सङ्गठनका सल्लाहकार डोलनाथ खनाल लगायतले शुभकामना दिए ।