सुनसरी — सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्डकप असोज ११ गतेदेखि सञ्चालन हुने भएको छ । बेलबारी नगरपालिका–११ लक्ष्मीमार्ग रंगशालामा हुने गोल्डकपमा एक भारतीय गरी नेपालका विभिन्न १० क्लबले प्रतिष्पर्धा गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगितामा बिभागीय टिम नेपाल पुलिस क्लब, साविक विजेता ब्रिगेड ब्वाइज क्लब काठमाडौँ, चित्लाङ फुटबल क्लब काठमाडौँ, बुटवल लुम्बिनी फुटबल क्लब, झापा–११, सलहेश युवा क्लब सिरहा, भोजपुर जिल्ला फुटबल संघ, रारा फुटबल क्लब राजारानी धनकुटा, भारतको दलसिंहपारा स्पोर्टस एकेडेमी जयगााउ वेस्ट बंगालले र आयोजक एल एक्स सिटी फुटबल क्लबको सहभागिता रहने अध्यक्ष विक्रम राईले जानकारी दिए ।

प्रतियोगिताको विजेता टोलीले नगद आठ लाख र उपविजेता टोलीले नगद चार लाख पाउनेछन् । प्रत्येक खेलको म्यान अफ दि म्याचले नगद ५ हजारसहित विधागत पुरस्कारको पनि ब्यवस्था गरिएको आयोजकले जनाएको छ । सर्वोत्कृष्ट खेलाडी र बिधागतले पाउने रकम भने खुलाइएको छैन ।

प्रतियोगिताको यो संस्करणदेखि रनिङ कप गोल्डकपमा दुई तोला सुन र दुई किलो पाँच सय ग्राम चाँदीजडित ट्रफी रहने आयोजकले जनाएको छ । सो ट्रफी लक्ष्मीमार्ग निवासी पोपिराज राई र ज्योतीराज राईले आफ्ना स्वर्गीय बुबाको स्मृतिमा सौजन्य गरेका हुन् ।

उक्त रनिङ कप ट्रफी लगातार तीन पटकको विजेता टोलीले प्राप्त समेत गर्ने अध्यक्ष राईले बताए । रनिङ कप ट्रफी पनि आइतबारनै आयोजकलाई हस्तान्तरण गरिएको छ । गोल्डकपको प्रथम संस्करणदेखि छैटौँ संस्करणसम्म डाँगीहाट युथ क्लब आयोजकको नाम रहँदै आएकोमा यसपटक भने आयोजक क्लबको नाम परिवर्तन भइ एल एक्स सिटी फुटबल क्लब भएको राईले जानकारी दिए ।