विराटनगर । कोशी प्रदेश मन्त्रिपरिषद बैठकले स्वास्थ्य मन्त्रालयका कर्मचारी सरुवा गर्ने निर्णय गरेको छ । 

मन्त्रिपरिषद बैठकले प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरमा कार्यरत ११ औं तहका निर्देशक डा. वीरेन्द्रकुमार मण्डललाई जिल्ला अस्पताल उदयपुर पठाएको छ ।

प्रदेश सरकारले १० औं तहका वरिष्ठ जनस्वास्थ्य प्रशासक ज्ञानबहादुर बस्नेतलाई स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरमा सरुवा गरी ल्याएको छ ।  

बस्नेत कार्यरत रहेको प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटामा वरिष्ठ जनस्वास्थ्य प्रशासक डा. सुरेश मेहतालाई सरुवा गर्ने निर्णय भएको सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीले जानकारी दिए । 

यस्तै मन्त्रिपरिषद बैठकले तीन वटा समिति गठन गरेको छ । मंगलबार बसेको बैठकले मन्त्रीको नेतृत्वमा तीन वटा समिति गठन गरेको हो । आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरको संयोजकत्वमा राजनीतिक तथा प्रशासनिक समिति गठन गरेको छ ।

आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीको संयोजकत्वमा कानून न्याय तथा प्रदेश मामिला समिति र भौतिक पूर्वाधारमन्त्री भूपेन्द्र राईको संयोजकत्वमा आर्थिक सामाजिक तथा पूर्वाधार समिति गठन गरेको हो ।

बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय कोशी प्रदेशले सञ्चालन गर्दै आएको मुख्यमन्त्रीसँग जनता कार्यक्रमको नाम परिवर्तन गर्ने निर्णय पनि गरेको छ । 

कार्यक्रमको नाम परिवर्तन गरी ‘जनतासँग कोशी प्रदेश सरकार’ राखिएको छ । बैठकले कार्यक्रम सञ्चालनको कार्यविधि पनि पास गरेको मन्त्री अधिकारीले जानकारी दिए ।