विराटनगर । नेकपा एमाले विराटनगर महानगरको अध्यक्षमा रोहित कोइराला मनोनीत भएका छन् । कोइराला यस अघि महानगर सचिव थिए । विराटनगर महानगर पालिका वडा नम्बर ३ मा रहेको मानगढ खानेपानीमा विद्रोही उठाएको भन्दै नगर अध्यक्ष सागर थापा जेठ ३१ गते कारवाहीमा परेका थिए । उनी कारवाहीमा परेसँगै महानगरको कमिटि  नै नयाँ बनेको हो ।
एमालेले विराटनगर महानगरको उपाध्यक्षमा सुनिता श्रेष्ठलाई मनोनित गरेको छ । यस्तै  सचिवमा  बलराम गिरी  उपसचिवमा गणेश साह र  अमताज हुसेनलाई मनोनीत भएका छन् । महानगर कमिटी १९९ सदस्यीय गठन भएको एमाले मोरङले जानकारी दिएको छ ।एमाले महानगरको इन्चार्जको जिम्मेवारी भने पर्शुराम बस्नेतले पाएका छन् ।

एमाले नेताहरूले महानगर कमिटीलाई पूर्णता दिइएको र यो कमिटीले ६ महिनाभित्र अधिवेशन गर्नुपर्ने दायित्व तोकिएको जानकारी दिएका छन् । मोरङका इन्चार्ज जीवन घिमिरेले महानगर कमिटी पनि ‘सङ्गठन कमिटी’ कै रूपमा रहनेछ । ‘अबको ६ महिनाभित्र अधिवेशन आयोजना गर्ने कार्यादेशसहित महानगर कमिटीलाई पूर्णता दिइएको हो, घिमिरेले बताए ।  

मानगढ खानेपानी आयोजना निर्वाचनमा पार्टीको उम्मेदवार हराउन गतिविधि गरेको आरोपमा  थापाको पद खोसिएको हो । उनी  स्थानीय निर्वाचनमा विराटनगरको मेयरको उम्मेदवार समेत बनेका थिए । उनको नेतृत्वको महानगर कमिटीले जेठ ३० मा बैठक आयोजना गरेर असोज १२ र १३ गते महानगरको अधिवेशन गर्ने निर्णय गरेको थियो ।