विराटनगर । कोशी प्रदेश सरकारले २०८२ लाई पर्यटन वर्षको रूपमा मनाउने भएको छ। पर्यटन दिवसको अवसरमा विराटनगरमा एक कार्यक्रमको आयोजना गरी पर्यटन वर्षको घोषणा गरेको हो । आगामी वर्ष २०८२ साललाई औपचारिक रूपमा पर्यटन वर्षको रूपमा घोषणा गरेको हो ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ‘कोशी प्रदेश पर्यटन वर्ष २०८२’ को घोषणा गरेका हुन् ।  शुक्रवार विश्व पर्यटन दिवसको अवसर पारेर सरकारले ‘कोशी प्रदेश पर्यटन वर्ष २०८२’ घोषणा समारोह आयोजना गरेको थियो । मुख्यमन्त्री कार्कीले भौगोलिक, सामाजिक, सांस्कृतिक तथा जैविक विविधताले भरिपूर्ण कोशी प्रदेश पर्यटकीय दृष्टिकोणले अत्यन्तै उर्वर रहेको बताए । 
नेपालकै होचो क्षेत्र झापाको केचनाकबलदेखि विश्वको सर्वोच्च शिखर सगरमाथासहित १० अग्ला हिमालमध्ये ५ वटा कोशी प्रदेशमा रहनुले पनि कोशी प्रदेश पर्यटकीय सम्भावना रहेको बताए ।  विश्वको सर्वोच्च शिखर सगरमाथासहित १० अग्ला हिमाल मध्ये ५ वटा मकालु, ल्होत्से, कञ्चनजङ्घा र कुम्भकर्ण हिमालले विश्वका पर्यटकहरूको ध्यान आकृष्ट गरेको उनको भनाई छ। 
कोशी प्रदेशमा पर्यटकीय गन्तव्यहरू पाथिभरा, वराहक्षेत्र र हलेसी, खुवालुङदेखि माङ्सेबुङ, फक्ताङ्लुङ, तुवाचुङ, जायजुङ जस्ता ऐतिहासिक र धार्मिक सम्पदाहरूले हाम्रो सामाजिक र धार्मिक विविधतालाई उजागर गरेको मुख्यमन्त्री  कार्कीको दाबी   छ । 

मुख्यमन्त्री कार्कीले यसका लागि प्रदेशको श्रोत र साधनले भ्याएसम्म पर्यटकीय गन्तव्यहरुको निर्माण गर्ने र प्रचारप्रसार गर्ने काम पनि सुरु गरेको बताए ।