विराटनगर । विराटनगरको रानी स्थित आईसीपी रोड तनाव उत्पन्न भएको छ । आइसीपी रोडमा ट्रकको ठक्करबाट साइकलमा रहेका एक वृद्धको गए राती मृत्यु भएपछि आक्रोशित बनेका स्थानीयको समूहले ढुङ्गा मुढा गरेपछि त्यहाँको अवस्था तनावग्रस्त बनेको हो ।
प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन केही थान अश्रुग्याँस समेत प्रहार गरेको छ । त्यहाँ ठुलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको मोरङ प्रहरीले जनाएको छ ।
बिहीबार बेलुका झन्डै सात बजेको समयमा आईसीपी तर्फ गइरहेको ना ४ ख २४८३ नम्बरको ट्रकले सोही दिशातर्फ गइरहेको साइकल यात्री विराटनगर–१८ का अन्दाजी ६० वर्षीय श्याम साहलाई ठक्कर दिएको थियो ।
उनको उपचारका लागि विराट नर्सिङ होममा चिकित्सकले केहीबेरको उपचारपछि मृत घोषणा गरेका थिए ।
उक्त ट्रकका चालक फरार भएपछि स्थानीयले विरोध प्रदर्शन गरेका हुन् ।आईसीपी रोडमा सवारी दुर्घटना धेरै भइरहेको भन्दै स्थानीय आन्दोलित बनेका थिए । सडक साँघुरो हुँदा दुर्घटना बढेको भन्दै करिब ५ सयको सङ्ख्यामा भेला भएका स्थानीयले सडकको स्तरोन्नति हुनुपर्ने, मालवाहक सवारीसाधनको गति सीमित गर्नुपर्ने, सडकमा रात्रिकालीन बत्तीको व्यवस्था हुनुपर्ने लगायतका माग राखेर आन्दोलन गरिरहेका छन् ।