सुनसरी-काठमाण्डौको चित्लाङ फुटबल क्लब सातौँ अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्ड कप फुटबल प्रतियोगिताको प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ । बेलबारी-११ लक्ष्मीमार्गस्थित लक्ष्मी खेल मैदानमा शनिवार सम्पन्न खेलमा आयोजक एलएक्स सिटी फुटबल क्लबलाई ३-२ गोल अन्तरले पराजित गर्दै चित्लाङले प्रिक्वाटरफाइनलमा स्थान सुरक्षित गरेको हो । सुरुवाती अग्रता जोगाउन नसक्दा आयोजक एलएक्स सिटी पहिलो खेलबाटै बाहिरिन बाध्य भयो । चित्लाङको जीतमा सनम धिमाल र विदेशी खेलाडी कार्लोस र हेनरीले एक-एक गोल गरे । आयोजकको तर्फबाट सुशील राई र प्रदीप लामाले गोल गरे पनि त्यो जीतका लागि पर्याप्त हुन सकेन ।
           प्रतिस्पर्धात्मक खेलको तेह्रौँ मिनेटमा आयोजकका सुशीलले गोल गरेर आफ्नो टिमलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा एक गोलले पछि परे पनि दोस्रो हाफको सातौँ मिनेटमा चित्लाङका सनम धिमालले गोल गरेर खेल बराबरीमा ल्याए । दोस्रो हाफको २४ औँ मिनेटमा कार्लोसले गोल गर्दै चित्लाङलाई २-१ को अग्रता दिलाए । ३३ औँ मिनेटमा आयोजकका प्रतिपले गोल गर्दै पुन खेललाई २-२ को बराबरीमा ल्याए । तर त्यसको दुई मिनेट नबित्दै हेनरीको गोलमा चित्लाङले ३-२ को पुनरागमन जीत निकाल्न सफल भयो । खेलको म्यानअफ द म्याच कार्लोस घोषित भए । उनले नगद ५ हजार पाए । 
       आइतबारको दोस्रो प्रिक्वाटरफाइनल झापा ११ फुटबल क्लब र भोजपुर जिल्ला फुटबल संघ बिच हुने आयोजकले जनाएको छ । यसअघि शुक्रवारको उद्धघाटन खेलमा पाहुना टोली कञ्चनजंगा फुटबल क्लब भारतलाई ५-१ गोलले पराजित गर्दै झापा ११ क्वाटर फाइनलमा पुगेको थियो । भोजपुर भने सिधै बाई पाएर क्वाटर फाइनल खेल्न लागेको हो । प्रतियोगितामा एक विदेशी सहित १० टोली सहभागी छन् । कात्तिक १० गतेसम्म चल्ने  प्रतियोगिताको विजेताले नगद आठ लाख रुपैयाँ र उपविजेताले चार लाख पुरस्कार प्राप्त गर्ने छन् ।