सुनसरी- लगातार दोस्रो जीत निकाल्दै झापा ११ फुटबल क्लब सातौँ अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बेलबारी-११ लक्ष्मीमार्गस्थित लक्ष्मी खेल मैदानमा आइतबार सम्पन्न पहिलो क्वाटर फाइनल खेलमा भोजपुर जिल्ला फुटबल संघलाई ३-० गोल अन्तरले पराजित गर्दै झापा ११ सेमिफाइनल प्रवेश गरेको हो ।
यसअघि शुक्रवार सम्पन्न उद्धघाटन खेलमा पाहुना टोली कञ्चनजंगा फुटबल क्लब भारतमाथि ५-१ गोल अन्तरको फराकिलो जीत निकाल्दै आइतबार भोजपुरसँग क्वाटर फाइनल खेलेको झापाली टिमलाई सेमिफाइनल पुर्‍याउन प्रदीप बुढाथोकीले २ र नीरज कार्कीले १ गोल गरे ।
jhapa11
खेल सुरु भएको २ मिनेटको सुरुवाती समयमा नीरजको गोलबाट अग्रता लिएको झापाली टोलीको लागि प्रतिपले दोस्रो हाफको ३४ औँ मिनेटमा गोल गरेर आफ्नो टिमलाई २-० को अग्रतामा पुर्‍याए । खेलको अन्तिम ५ मिनेटको अतिरिक्त समयमा प्रदिपलेनै व्यक्तिगत दोस्रो गोल गरेपछि झापाले ३-० को सहज जीत निकालेको हो । खेलको म्यानअफ द म्याच प्रदीपनै घोषित भए । उनले नगद ५ हजार पुरस्कार पाए । 
    प्रतियोगिता अन्तर्गत सोमबार हुने दोस्रो क्वाटर फाइनलमा राजा रानी फुटबल क्लब धनकुटा र चित्लाङ फुटबल क्लब काठमाण्डौबिच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । चित्लाङ शनिवार सम्पन्न दोस्रो प्रिक्वाटरफाइनलमा आयोजक एलएक्स सिटी फुटबल क्लबलाई ३-२ गोल अन्तरले पराजित गर्दै क्वाटर फाइनल पुगेको हो भने राजा रानी सिधै बाई पाएर क्वाटर फाइनल खेल्न लागेको हो ।
कात्तिक १० गतेसम्म चल्ने प्रतियोगिताको विजेताले नगद आठ लाख रुपैयाँ र उपविजेताले चार लाख पुरस्कार प्राप्त गर्ने छन् ।