सुनसरी — साबिक विजेता ब्रिगेड ब्वाइज क्लब काठमाडौं सातौं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्डकपको पहिलो चरणबाटै बाहिरिएको छ ।
बेलबारी–११ स्थित लक्ष्मी खेल मैदानमा मंगलबार सम्पन्न तेस्रो क्वाटरफाइनल खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा ब्रिगेड ब्वाइज पहिलो चरणबाटै बाहिरिएको हो ।
लुम्बिनी फुटबल क्लबसँग २–१ गोलले पराजित हुँदै ब्रिगेडको उपाधि यात्रामा पूर्णविराम लागेको छ । ब्रिगेडसँग संघर्षपूर्ण जित निकालेको लुम्बिनी सेमिफाइनल प्रवेश गरेको छ ।
खेलमा ब्रिगेड ब्वाइजका सुजन डंगोलले २० औं मिनेटमा गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाएका थिए । उनले कप्तान एन्जल महर्जनको पासमा गोल गरेका हुन् । बेलबारी गोल्डकपमा पहिलो पटक सहभागिता जनाएको लुम्बिनीले दुवै गोल मध्यान्तरपछि गर्यो । चार जना विदेशी खेलाडी लिएर मैदानमा उत्रिएको लुम्बिनीले पेनाल्टीको अवसर पनि पाएको थियो ।
खेलको ५१ औं मिनेटमा लुम्बिनीका एरिक विष्टलाई विपक्षी खेलाडीले डी–बक्सभित्र खराब ट्याकल गरेपछि पाएको पेनाल्टी अवसरलाई विष्टले सुन्दर ढंगले गोलमा परिणत गरेका थिए । ६२ औं मिनेटमा विदेशी खेलाडी ग्लोरीले अर्को गोल गरेर लुम्बिनीलाई २–१ को जित दिलाए । रिचर्डले दिएको पासलाई ग्लोरीले मैदानको मध्यभागबाटै जाली चुमाएका थिए । खेलको म्यान अफ द म्याच लुम्बिनीका एरिक विष्ट भए । उनलाई कोशी प्रदेश सभाका सदस्य मानबहादुर लिम्बूले नगद ५ हजार प्रदान गरे ।
प्रतियोगिता अन्तर्गत बुधबारको अन्तिम क्वाटरफाइनल खेल सलहेस फुटबल क्लब सिरहा र भारतको दलसिंहपारा फुटबल क्लबबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले ८ लाख र उपविजेताले ५ लाख र ट्रफी पाउनेछन् ।