सुनसरी । दरबन्दी अनुसार वैज्ञानिक नहुँदा राष्ट्रिय भैँसी अनुसन्धान कार्यक्रम प्रभावित भएको छ ।
सुनसरीको तरहरामा रहेको राष्ट्रिय भैँसी अनुसन्धान कार्यालयमा ४ जना वैज्ञानिकको दरबन्दी रहेकोमा हाल दुई जना मात्र कार्यरत छन् । वैज्ञानिक अभावमा कार्यालयले अनुसन्धानको काम प्रभावकारीरूपले गर्न नसक्दा भैसीपालक कृषक नै प्रभावित भएका छन् । सुनसरीको तरहरास्थित भैँसी अनुसन्धान केन्द्रले नयाँ र उन्नत जातका पाडा पाडी उत्पादन गरी किसानलाई वितरण गर्दै आएको छ । तर कूल १९ जना कर्मचारीको दरबन्दीको कार्यालयमा हाल १२ जना मात्रै कार्यरत मात्र छन् ।
अधिकृत स्तरका ४ जना कर्मचारीको दरबन्दी रहेकोमा कार्यालयमा १ जना मात्र कार्यरत छन् । विभाग र मन्त्रालयमा वैज्ञानिक र कर्मचारी माग गरिए पनि लामो समयदेखि पदपूर्ति हुन सकेको छैन ।
नार्कमा नै वैज्ञानिक अभाव भएकाले पदपूर्ति हुन नसकेको राष्ट्रिय भैँसी अनुसन्धान कार्यालय, तरहरा, सुनसरीका प्रमुख पवन कुमार झाले जानकारी दिए ।
कर्मचारी समेत अभाव हुँदा केन्द्रमा भैसीपालन सम्बन्धी काममा समेत समस्या परेको छ । यसबाट किसानलाई समेत प्रत्यक्ष असर परेको कार्यालयले जनाएको छ ।