इटहरी । बक्यौता नबुझाएको भन्दै कोशी प्रदेशमा रहेका दुई वटा उद्योगको विद्युत् लाइन काटिएको छ । डेडिकेटेड र ट्रङ्क लाइन विवादमा नेपाल विद्युत् प्राधिकरणले विराटनगरको बाबा जुट मिल र धनकुटाको निगाले सिमेन्ट उद्योगको लाइन काटिएको विद्युत् प्राधिकरणले जनाएको छ ।
सो विवादमा कोशी प्रदेशका अन्य सात उद्योगहरूको भने लाइन काटिएको छैन । नेपाल बिद्युत् प्राधिकरण विराटनगर, विराटनगर वितरण केन्द्र प्रमुख सरोजकुमारका अनुसार बाबा जुटको लाइन बिहीबार साँझ काटिएको हो । बिहीबार साँझ धनकुटाको निगाले सिमेन्टको विद्युत् लाइन काटिएको छ ।
विराटनगरमा रहेको रघुपति जुटमिल्स, दुहबीमा रहेको अरिहन्त मल्टिफाइबर्स लिमिटेड, अरिहन्त पोलिप्याक, इटहरीमा रहेको रिलायन्स स्पिनींगस मिल्सलाई समेत बक्यौता तिर्न ताकेता गरिएको छ । यस्तै उदयपुर सिमेन्ट उद्योगले समेत डेडिकेटेड र ट्रक लाइन विवादका कारण महसुल तिरका छैनन् ।
विद्युत् प्राधिकरणले सूचना निकालेर बक्यौता तिर्न भने पनि रघुपति जुट मिल, उदयपुर सिमेन्ट, इटहरीको रिलायन्स स्पिनिङ्ग मिल्स, दुहबीको अरिहन्त मल्टीफाइबर र अरिहन्त पोलिप्याक उद्योगले अदालतबाट लाइन तत्काल नकाट्ने अन्तरिम आदेशको अङ्कुश प्राधिकरण विरुद्ध लगाएका छन् । प्राधिकरण कोशी प्रदेशका प्रमुख उमेशकुमार झाका अनुसार सात उद्योगमध्ये दुई वटाको लाइन काटिएको र बाँकीका हकमा भने अदालत अङ्कुश भएकोले रोकिएको बताए ।
पछिल्लो पटक गत २४ असोजमा एक सूचना प्रकाशित गर्दै प्राधिकरणले बक्यौता महसुल भुक्तानी गर्न भन्दै ८ कात्तिक बिहीबारसम्मको म्याद दिएको थियो । तर, प्राधिकरणले बिल दिएको तर विद्युत् प्रयोगको प्रमाण नदिएको भन्दै सो बक्यौता नतिर्ने अडानमा उद्योगीहरू छन् ।