इटहरी । राष्ट्रिय जागृति क्लब इटहरीले २०२३ सालदेखि निरन्तर गर्दै आएको स्रष्टा सम्मान कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिएको छ । खेलकुद र गीत सङ्गीतको क्षेत्रमा काम गर्दै आएको राष्ट्रिय जागृति क्लबले काग तिहारको दिन हरेक वर्ष स्रष्टा सम्मान गर्दै आएको छ ।

यो वर्ष क्लबले वरिष्ठ लोक गायिका तारा थापालाई स्रष्टा सम्मान गरेको हो । यस्तै क्लबले इटहरीको शिक्षा क्षेत्र र पत्रकारितामा योगदान पुर्‍याएका दुई जनालाई पनि सम्मान गरेको छ । क्लबले २० वर्षदेखि इटहरीलाई कार्य थलो बनाएर पत्रकारिता गरिरहेका  इटहरी सञ्चार नेटवर्क प्रालीका अध्यक्ष तथा नेपाल प्रेस  कोशी प्रदेश सम्वाददाता सुमन पुरी र शिक्षा तर्फ पशुपति सिग्देललाई सम्मान गरेको हो । सिग्देल इटहरी स्थित जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक हुन् । 

क्लबले हरेक वर्ष झैँ यस पटक पनि खेल क्षेत्रका विभिन्न विधाका खेलाडीहरूलाई समेत पंशासा पत्र प्रदान गरेको छ । इटहरीमा घर भएका क्रिकेट खेलाडी भूपाल लुइँटेल, फुटबल खेलाडी सविन घिमिरे , तेक्वान्दो  तर्फ ऋिसीका बुढाथोकीलाई प्रशंसा पत्र प्रदान गरेको छ ।

aa


लुइँटेलले कोशी प्रदेशका तर्फबाट प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता खेलेका छन् भने सविन अन्डर २० राष्ट्रिय फुटबल टोलीका सदस्य हुन् । यस्तै ऋषिका भने सार्क देशहरूको विद्यालयहरूको प्रतियोगितामा गोल्ड मेडलिष्ट हुन् । यस्तै क्लबले नव प्रतिभाको रूपमा सिमला धिताललाई पनि प्रशंसा  पत्र प्रदान गरेको छ । सिमला यस सिजनको भ्वाइस अफ किड्सकी फाइनलिष्ट हुन् । 

यसै बिच क्लबले आयोजना गरेको इटहरी उप महानगरपालिका स्तरीय खुल्ला लोक नृत्य प्रतियोगितामा राष्ट्रिय मावि इटहरी प्रथम भएको छ । यस्तै कस्तुरी मावि दितिय र पिस जोन स्कुल तृतीय भएका छन् । प्रतियोगितामा प्रथम हुनेले २० हजार, तृतीय  हुनेले १५ हजार र तृतीय हुनेले १० हजार प्राप्त गरे । 

प्रतियोगितामा इटहरी क्षेत्रका सामुदायिक र संस्थागत विद्यालयहरूले सहभागिता जनाएका थिए । कार्यक्रममा सम्मानित वरिष्ठ गायिका तारा थापाले आफ्ना लोकप्रिय गीत समेत गाएकी थिइन् । यस्तै कार्यक्रममा नव प्रतिभा सिमला धितालले समेत गीत गाइन् । वरिष्ठ गायिका थापाले गीत सँगै दर्शकहरू झुमेका थिए । 

इटहरीको खेलकुद र कला क्षेत्रको विकास र प्रवर्धनमा काम गर्दै आएको क्लबले हरेक साल काग तिहारका दिन विभिन्न कार्यक्रम गर्दै स्रष्टा सम्मान गर्ने गरेकाले यसलाई निरन्तरता दिएको कार्यक्रमका संयोजक रविन गौतम देवीले बताए । उनले इटहरीमा रहेर विशिष्ट योगदान पुर्‍याउने व्यक्तिहरूलाई सम्मान गर्ने चलन रहेकाले यसलाई निरन्तरता दिएको बताए । कार्यक्रम क्लबका अध्यक्ष सन्तबहादुर डुम्जनको अध्यक्षतामा सम्पन्न भएको थियो ।