सुनसरी । रश्मिकुमारी घिसिङको सनसनीपूर्ण दोहोरो ह्याट्रिकसँगै एपिएफ फुटबल क्लब दोस्रो एक्स्ट्रिम झापा महिला गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

झापाको दुधेमा सोमबार भएको क्वार्टरफाइनलमा एपिएफले भुटानको थिम्पु राभेन वुमन फुटबल क्लबलाई ७–० गोल अन्तरले पराजित गरेको हो ।

एपिएफको जितमा रश्मिकुमारी घिसिङ एक्लैले ६ गोल गरिन् । खेलको २६ औँ मिनेटमा रेनुका नगरकोटीको प्रहारबाट आएको बललाई कट ब्याक गर्दै रश्मिले गोलको खाता खोलेकी थिइन् । त्यसको चार मिनेटपछि व्यक्तिगत दोस्रो गोल गर्दै उनले एपिएफको अग्रता दोब्बर बनाइन् ।

पहिलो हाफको अन्तिम अर्थात् ४५ औँ मिनेटमा मैदानको मध्यभागबाट एकल प्रयासमा गोल गर्दै रश्मिले ह्याट्रिक पूरा गरिन् । दोस्रो हाफमा पनि उनको गोल वर्षा रोकिएन । खेलको ५२ औँ मिनेटमा भुटानकी पुनम चेम्जोङले डिबक्सभित्र फाउल गरेपछि प्राप्त पेनाल्टीलाई सदुपयोग गर्दै उनले चौथो गोल गरिन् ।

५५ औँ मिनेटमा कुसुम खतिवडाको क्रसमा हेडमार्फत गोल गरेकी रश्मिले ५९ औँ मिनेटमा कुसुमसँगकै तालमेलमा व्यक्तिगत छैटौँ गोल गर्दै दोहोरो ह्याट्रिक पूरा गरिन् । त्यसपछि ६२ औँ मिनेटमा रश्मिकै पासमा अनिता केसीले गोल थप्दै एपिएफको जित ७–० ले सुनिश्चित गरिन् ।

खेलभरि एपिएफले विपक्षी टोलीमाथि दबाब कायम राख्यो । भुटानको थिम्पु राभेनले भने एपिएफको पोस्टमा उल्लेख्य आक्रमण गर्न सकेन ।

धरानमा हालै सम्पन्न धरान महिला गोल्डकपको उपाधि जितेको एपिएफले दुधेमा पनि उत्कृष्ट प्रदर्शन गर्दै उपाधिको बलियो दाबेदारका रूपमा आफूलाई प्रस्तुत गरेको छ ।

एपिएफ गत संस्करणको उपविजेता टोलीसमेत हो ।

खेलको प्लेयर अफ द म्याच रश्मिकुमारी घिसिङ घोषित भइन् । उनले नगद १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन् ।

प्रतियोगिताको सेमिफाइनलमा एपिएफले झापा–११ फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

मंगलबार हुने अन्तिम क्वार्टरफाइनलमा नेपाल पुलिस क्लब र बागमती युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको विजेताले ११ लाख र उपविजेताले ५ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

त्यस्तै, उत्कृष्ट खेलाडीले १ लाख ५० हजार रुपैयाँ पाउनेछन् ।

उत्कृष्ट गोलकिपर, मिडफिल्डर, डिफेन्डर, सर्वाधिक गोलकर्ता र प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।