विराटनगर । नेकपा एमाले इलामको नेतृत्व चयनका लागि अहिले निर्वाचन भइरहेको छ । एमालेको ११औँ अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि नयाँ नेतृत्व चयनका लागि निर्वाचन भएको हो । इलाम एमालेको अध्यक्षका लागि गणेश बराल र नरेन्द्रनाथ भट्टराईले मनोनयन दर्ता गराएका छन् । यस्तै उपाध्यक्षमा उदयबहादुर राई, उमेश गुरुङ र बुद्धिप्रसाद खनालले मनोनयन दर्ता गराएका छन् । सचिवमा भने रवीन्द्र सुवेदी र प्रकाश अधिकारीले मनोनयन दर्ता गराएको एमालेले जनाएको छ । एक महिलासहित दुई उपसचिव पदका लागि विष्णुमाया आचार्य रिमाल, दिलकुमारी लावती, यामबहादुर राई, मानवीर लुहागुन, रमेशकुमार राई र छवि श्रेष्ठले मनोनयन दर्ता गराएका छन् । एमाले इलामको अधिवेशनमा ५ सय ८७ जना प्रतिनिधि छन् । ती प्रतिनिधिले एमाले इलामको नयाँ नेतृत्व चयन गर्ने छन् ।


