विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदको  उप निर्वाचन कोलागि  मुख्य रूपमा ३ दल प्रतिस्पर्धामा छन् ।  नेकपा एमालेका तुलसीराम विश्वास, नेपाली काँग्रेसका बलराम सरदार र नेकपा माओवादी केन्द्रका  नमोनारायण माझीका बिच प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । यी उम्मेदवारहरू अहिले जनताको घरदैलोमा जाने र आफ्ना कुराहरू राख्दै आएका छन् ।  उम्मेदवारहरूका आफ्नै जित्ने दाबी गर्दा गर्दै पनि केही उम्मेदवारहरू जनता बिच लोकप्रिय छन्  ।  नेकपा एमालेबाट उम्मेदवार भएका तुलसीराम विश्वास युवा तथा पहिलो जनप्रतिनिधिमा उम्मेदवार दिने व्यक्ति हुन्  ।  उनले यस अघि कुनै पनि लाभको पदमा रहेर काम नै गरेनन् ।  केही गर्ने हुटहुटीबाट उम्मेदवार भएका विश्वास अहिले जनता समक्ष शिक्षा, स्वास्थ्य, कृषि र सिचाइका मुख्य एजेन्डा लिएर जनता समक्ष पुगेका छन् । नेकपा एमालेबाट अध्यक्षका उम्मेदवार तुलसीराम विश्वाससँग सञ्चार पाटी डटकमले कुराकानी गरेको छ। कुराकानीको सार संक्षेप ।

ग्रामथानको अध्यक्ष पदको उम्मेदवारको लागि अहिले चुनावी अभियान कस्तो छ ?
घरदैलो गरिरहँदा माहौल एकदमै राम्रो पाएका छौँ। मैले सम्भव भएसम्म यहाँका हरेक मतदातासँग कुराकानी गर्ने प्रयास गरेको छु। उनीहरूले सुनाउने समस्याहरू टिपोट गरेको छु। घरदैलो अभियानले मलाई आत्मविश्वास बढाएको छ। मैले मलाई  जिताउनुस् भनेको छु। मेरो पक्षमा फिडब्याक राम्रो पाएको छु। 

२०७९ को निर्वाचनमा  एमालेलाई काँग्रेसले पराजित गरेको थियो,  के–के कारणले राम्रो माहौल पाउनुभयो?
सबैभन्दा पहिलो त जनताले देखाएको रेस्पोन्स नै हो । रेस्पोन्स हेर्दा त लाग्छ, मलाई अहिले नै विजेता घोषित गरिदिए हुन्छ। म युवा उम्मेदवार हुँ। एमालेप्रति अहिले पनि जनताको आशा छ। भत्ता दिने पार्टी भन्ने छाप सबैमा छ। यी सबै कारणले मेरो जीत हुन्छ भन्नेमा विश्वस्त भएको छु।  

तपाईँलाई के कारणले मन पराउने,  चुनावी एजेन्डा के के हुन् ?
म गाउँघरमा वितरण हुने सामाजिक सुरक्षा भत्तालाई व्यवस्थित र सहज बनाउनेछु। हाम्रोमा सबैभन्दा ठुलो समस्या शिक्षामा छ। सामुदायिक स्कुलमा गुणस्तर खस्केको छ। गाउँका सबैले छोराछोरी निजी स्कुल नै पढाउन खोज्छन्। यसको मुख्य कारण अङ्ग्रेजी पढाइ हुने कारणले हो। मेरो मुख्य एजेन्डा नै सामुदायिक विद्यालयको अवस्था सुधार्छु भन्ने छ। अङ्ग्रेजी माध्यमबाट गरिब निमुखा बालबालिकालाई पढाउने प्रयास हुनेछ ।
अर्को किसानलाई राहत दिनु मेरो अर्को मुख्य काम हुनेछ। म आफै पनि किसानको छोरा हुँ, आफै पनि किसान हुँ। मैले किसानको समस्या बुझेको छु। यहाँ सिँचाइको समस्या छ। डिप बोरिङ गर्ने, किसानले चलाएको विद्युत् शुल्क पालिकाले तिर्ने, उनीहरूलाई शुल्क मिनाहा गरिदिने लक्ष्य छ। युवाहरूका लागि स्वरोजगार मूलक र उद्यमशीलतामा आधारित कार्यक्रमहरू सञ्चालन गरिने छ । 
म आफै पनि विदेश बसेर आएको र त्यहाँ नेपालीले भोगेको दुःख सहेर आएको मान्छे हो। गाउँमै स्वरोजगार बनाउन कसरी सकिन्छ भन्नेमा हाम्रो ध्यान जानेछ। गाउँका सबै सडकहरू राम्रो  बनाउन पनि हामीले काम गर्नेछौँ। स्वास्थ्य सेवालाई गाउँमै भरपर्दो बनाउने योजना पनि हामीसँग छ।

यो उप निर्वाचन हो, तपाईँले अघि सारेका योजना पुरा हुन्छन् त ?
जनताको मतबाट निर्वाचित भएपछि दिनरात नभनी उनीहरूकै लागि काम गर्ने हो। अढाई वर्षमा पूरा भएन भने आधार बन्छ। अर्को पटक आउनेले काम गर्छ। कसैले थाल्नु त प¥यो नि!

तपाईँले जीत नै हासिल गर्नु भयो भने पनि तपाईँको मुख्य प्रतिस्पर्धी को हो ?
राजनीतिक दल र स्वतन्त्र गरी यहाँ १६ जना उम्मेदवार छौँ। यी १६ जनामा मेरो प्रतिस्पर्धामा कोही छ जस्तो लागेको छैन । तै पनि, मेरो पछिपछि प्रतिस्पर्धामा काँग्रेस नै छ जस्तो देखेको छु।

नयाँबाट केही ‘थ्रेट’ महसुस गर्नुभएको छ?
केही थ्रेट छैन । नयाँ भनिने साथीहरूसँग कुनै एजेन्डा छैन । चुनाव आउँदा मात्रै तात्तिने, अरू बेला मौन बसेको भरमा राजनीति हुन्छ ? चुनावका बेला स्वतन्त्र वा अर्को के भनेर हुँदैन । उहाँहरू जनताका लागि लागिपरेको खोइ? चुनावमा तँछाडमछाड मात्रै गरेर हुँदैन। नयाँ साथीहरूलाई मेरो सुझाव छ, चुनावमा जे होस् सधैँ जनताको पक्षमा लागिरहनुस्। बल्ल उनीहरूले भरोसा गर्ने दिन बिस्तारै आउँछ। अहिले यहाँ त्यस्तो अवस्था आइसकेको छैन ।