बिर्तामोड, पुस ७ । झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा जारी प्रथम झापा कपको उपाधिका लागि भोलि चर्च ब्वाइज युनाइटेड र न्यु रोड टिम एनआरटी खेल्दै छन् ।
फाइनल खेलको अघिल्लो दिन आज खेलमैदानमा आयोजित प्रिम्याच कन्फ्रेन्समा दुवै टिमले उपाधि जित्ने दाबी गरेका छन् ।
ए डिभिजन लिगको च्याम्पियन चर्च ब्वाइज र छैटौँ स्थानको एनआरटी १० दिनपछि पुनः उपाधि होडमा रहेका छन् । इलाम गोल्डकपपछि उनीहरू छिमेकी जिल्ला झापामा झापा कपको फाइनलमा खेल्दै छन् ।
झापा कपको पहिलो चरणमा गोर्खा ब्वाइज स्पोर्टस् क्लबलाई हराउँदै सेमिफाइनलमा स्थान बनाएको चर्च ब्याइजले फाइनल प्रवेशका लागि सिरहाको सलहेश फुटबल क्लबलाई पराजित गरेको थियो ।
त्यस्तै, चित्लाङ फुटबल क्लबलाई रोक्दै अन्तिम चारमा प्रवेश गरेको एनआरटी इटहरीको राष्ट्रिय जागृतिलाई टाई ब्रेकरमा पछि पार्दै फाइनल पुगेको हो ।
प्रि–म्याच कन्फ्रेन्समा चर्च ब्वाइजका टिम कप्तान कमल श्रेष्ठ र प्रशिक्षक सुमन श्रेष्ठले फाइनलको उपाधि हात पार्ने दाबी गरेका छन् ।
बेन्चमा रहेका अनन्त तामाङ प्लेइङ ११ मा रहने प्रशिक्षक श्रेष्ठले बताए । इलामको हारको बदला लिने गरी खेल खेल्ने उनको भनाइ थियो ।
एनआरटीका कप्तान अञ्जन विष्ट र प्रशिक्षक जीवन सिंकेमानाले पनि उपाधि आफ्नो टिमले जित्ने दाबी गरेका छन् । आफ्नो टिम सन्तुलित रहेको र खेलाडीहरू युवा तथा एकताबद्ध रहेकाले बलियो रहेको प्रशिक्षक सिंकेमानाले बताए ।
 प्रिम्याच कन्फ्रेन्सको सहजीकरण प्रतियोगिता संयोजक केशवराज दाहालले गरेका थिए ।
यसअघि, यही रंगशालामा गत वर्ष फागुनमा भएको छैटौँ झापा गोल्डकपमा चर्च ब्याइजले बाइमा रहेको एनआरटीलाई पहिलो चरणमै रोकेको थियो ।
छैटौँ झापा गोल्डकपको च्याम्पियन चर्च ब्वाइज यही मङ्सिर अन्तिम साता भएको इलाम गोल्डकपमा भने एनआरटीसँग फाइनलमा पराजित भएको थियो । एनआरटीले चर्च ब्याइजलाई ३–० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको थियो ।
त्यस्तै, सहिद स्मारक ए डिभिजन लिगमा चर्च ब्वाइज हाबी देखिएको थियो । लिगको छैटौँ चरणमा चर्च ब्वाइज र एनआरटीले २–२ गोलको बराबरी खेलेका थिए । १५ औँ चरणमा चर्च ब्याइजले एनआरटीलाई ४–१ गोल अन्तरले हराएको थियो ।
चर्च ब्वाइजमा लिगताकाका खेलाडी अनन्त तामाङ मात्र रहेका छन् भने त्यो बेलाका गोलकर्ता अञ्जन विष्ट हाल एनआरटीमा आबद्ध छन् ।
चर्च ब्वाइज बि डिभिजन जितेर ए डिभिजन च्याम्पियन बनेको ललितपुरे टोली हो भने ९१ वर्षको इतिहास बोकेको एनआरटीले पाँच पटक शीर्ष लिग जितेको छ । प्रिम्याच कन्फ्रेन्समा झापा ११ एफसीका अध्यक्ष जलकुमार गुरुङले झापा कपका विषयमा उठेका प्रश्नको जवाफ दिएका थिए ।
प्रतियोगितामा नेपाल र भारतका १० टिमको सहभागिता रहेको थियो । आयोजक झापा–११ सहित भारतको जिटिए दार्जिलिङ, गोर्खा ब्वाइज रुपन्देही, एलएक्स सिटी मोरङ, राष्ट्रिय जागृति क्लब इटहरी, सलहेश यूथ क्लब सिरहा, त्रिभुवन आर्मी फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, एनआरटी क्लब काठमाडौँ र चित्लाङ एफसी काठमाडौँ सहभागी भएका थिए ।
प्रतियोगिताको विजेताले नगद १० लाख तथा उपविजेताले नगद ५ लाख पुरस्कार पाउने आयोजक झापा ११ फुटबल क्लबका अध्यक्ष जलकुमार गुरुङले जानकारी दिए । प्रतियोगिताको फाइनल खेल पुस ८ गते हुनेछ । प्रत्येक खेलको प्लेयर अफ द म्याचले १० हजार नगद पाउनेछन् । प्रतियोगिताको उच्च गोलकर्ता एक जना तथा उत्कृष्ट गोलकिपर एक जनालाई ३५ हजार नगद पुरस्कार प्रदान गरिनेछ । त्यस्तै, प्रतियोगिताको एक उदीयमान खेलाडीलाई झापा ट्यालेन्ट घोषणा गरेर नगद ३५ हजार रुपैयाँ प्रदान गरिनेछ ।
प्रतियोगिताको सर्वोत्कृष्ट एक जना खेलाडीलाई मस्ट भ्यालुएवल खेलाडी घोषित गरेर नगद १ लाख रुपैयाँ प्रदान गरिने अध्यक्ष गुरुङले जानकारी दिए ।
प्रतियोगितालाई रोमाञ्चक बनाउँदै प्रोत्सहान गर्न बिर्तामोडको महेन्द्र रत्न स्टोर्सले प्रत्येक दिन एक जना भाग्यशाली दर्शकलाई हिम स्टार टिभी प्रदान गर्दै आएको छ ।