सुनसरी ।चालिसको दशकमा इटहरीमा क्रिकेट खेलको सुरुवात गर्ने चार जना खेलाडी सम्मानित भएका छन् ।
सम्मानित हुनेमा विनोद देवान, सञ्जीव ढुङ्गाना, प्रदीप रेग्मी र कमलेश पौडेल रहेका छन् ।
उनीहरू बि सं २०४३ सालमा पहिलो पटक इटहरीमा क्रिकेट भित्राउने खेलाडीहरू हुन ।
इटहरीमा २०४३ सालमा इटहरी क्रिकेट टिमको संस्थापक सदस्यको रूपमा योगदान पुर्‍याएको भन्दै कस्तुरी कलेज अफ म्यानेजमेन्टले सम्मान गरेको हो ।
इटहरी ९ स्थित जनता क्रिकेट मैदानमा शुक्रवार अन्तर स्कुल क्रिकेट प्रतियोगिताको समापनको अवसरमा उनीहरूलाई कस्तुरी कलेज अफ म्यानेजमेन्टका अध्यक्ष रामचन्द्र अधिकारीले सम्मान गरेका हुन ।
उक्त टिमका सदस्य लिलम बस्नेत, पवन खेडिया भने अनुपस्थित रहेका थिए ।
२०४३ सालमा स्थापित इटहरी क्रिकेट टिमका सदस्य मध्ये केही विदेशमा छन् भने केहीको निधन भैसकेको कस्तरी एकेडेमीका प्राचार्य एवंम पूर्व क्रिकेट खेलाडी कमलेश पौडेलले जानकारी दिए ।