सुनसरी । खोटाङको दिक्तेलमा आगामी फागुन १५, १६ र १७ गते प्रथम राष्ट्रिय बाँस सम्मेलन हुने भएको छ ।
उक्त सम्मेलनका लागि सातै प्रदेशमा प्रादेशिक तयारी सुरु भएको छ । दिक्तेल रुपाकोट मझुवा गढी नगरपालिका मुख्य आयोजक रहने सम्मेलनमा उठाइने एजेन्डाको सम्बन्धमा आज इटहरीमा कोसी प्रदेशस्तरीय छलफल तथा अन्तरक्रिया गरिएको छ ।
वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र, कोसी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालय र ग्रिन बाम्बो क्रिएसन प्रालि आयोजक रहेको सम्मेलनका लागि बाँससँग सम्बन्धित सरकारी तथा वन वातावरण सम्बन्धी गैरसरकारी संघ संस्था, शैक्षिक तथा अनुसन्धान निकाय, निजी क्षेत्र, बाँसमा आधारित उद्यमी र स्थानीय तहका प्रतिनिधिहरुसंग छलफल गरिएको हो ।
       ‘जहाँ बाँस त्यहाँ जीवन, जहाँ जीवन त्यहाँ बाँस’ भन्ने नाराको साथ हुने राष्ट्रिय सम्मेलनमा बाँससम्बन्धी विविध सम्भावना, अवसर र चुनौतीहरूको खोजी गर्ने, बाँसको खेतीलाई सुधार र विस्तार गर्दै अन्य खेती हुन नसक्ने जग्गामा बाँस खेती विस्तार गर्ने, बाँसबाट प्राप्त हुने विविध वस्तु तथा सेवाहरूको प्रदर्शनी गरिने आयोजकले जनाएको छ ।
सम्मेलनको पूर्व तयारीका लागि आज कोसी प्रदेशको इटहरीमा सम्पन्न भएको छलफल भोली मधेस प्रदेशको जनकपुरमा, पर्सी बागमतीको हेटौँडामा, पुस १८ गते गण्डकीको पोखरामा र पुसको अन्तिम साता उपत्यका (काठमाडौँ, ललितपुर, भक्तपुर) मा प्रादेशिक कार्यक्रमहरू गर्ने वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र काठमाण्डौका महानिर्देशक डा. राजेन्द्र केसीले बताउनुभयो ।
बाँसलाई ‘ब्रान्ड’ बनाएर अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्न सकिने भएकाले सम्मेलन उपलब्धिमूलक हुने केसीले विश्वास व्यक्त गरे ।सम्मेलनमा एक सय सरकारी तथा गैरसरकारी निकाय, एक सय वन उपभोक्ता समूह, ५० विश्वविद्यालय तथा अनुसन्धान केन्द्र, एक सय विद्यार्थी सहभागी भई प्रत्यक्ष अवलोकन गर्ने उनले जानकारी दिए।