सुनसरी । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ हिसान सुनसरीले प्रत्येक वर्ष आयोजना गर्दै आएको खेल महोत्सव हिसान स्पोर्टस् मिट २०८१ माघ १३ देखी सुरु हुने भएको छ । आइतबार हिसान सुनसरीले इटहरीमा पत्रकार सम्मेलनको आयोजना गरी ११ औँ संस्करणको स्पोर्ट्स मिट माघ १३ देखी १९ गतेसम्म आयोजना गर्ने जानकारी गराएको हो ।
एक सातासम्म चल्ने स्पोर्टस मिटमा फुटबल, भलिबल, बास्केटबल, क्रिकेट र एथलेटिक्सका विभिन्न इभेन्ट्सहरुमा प्रतिस्पर्धा गराइने हिसान सुनसरीका अध्यक्ष सागरप्रसाद भटराईले जानकारी दिए । विगत दुई वर्षदेखि सुरु गरिएको हिसान इटहरी रनलाई ५ किलोमिटरबाट बढाएर यसबर्ष ८ किलोमिटर बनाइएको कार्यक्रम संयोजक सुभाष लुइँटेलले जानकारी दिए ।
विगतका वर्षहरूमा हिसान सुनसरीमा आबद्ध शिक्षालयका बिद्यार्थीहरुको मात्र सहभागिता सुनिश्चित गरिएको हिसान रनमा यस पटक पब्लिक क्याटगोरी अन्तर्गत जो कोहीलाई खुला गरिएको संयोजक लुइँटेलले जानकारी दिए ।
स्पोर्टस मिट अन्तर्गत फुटबल इटहरी ताल तलैया स्थित बुढासुब्बा खेलमैदानमा हुनेछ भने क्रिकेट इटहरी ९ स्थित जनता क्रिकेट मैदानमा सञ्चालन गरिने बताइएको छ । भलिबल पूर्वाञ्चल मावि तरहरा इटहरीमा, बास्केटबल धरानस्थित सियोन स्कुलको कोर्टमा र एथलेटिक्सका इभेन्ट्सहरु इटहरी रङ्गशालामा खेलाइने हिसान सुनसरीले जनाएको छ । उक्त प्रतियोगिताहरू सम्पन्न गर्न सम्बन्धित खेलको जिल्ला संघहरुलाई संयोजन गर्ने जिम्मेवारी दिइएको छ । वक्तृत्वकला, कविता प्रतियोगिता, बुद्धिचाल, टेबल टेनिस, ब्याडमिन्टन र हाजिरी जवाफ प्रतियोगिता भने केही दिनअघि सम्पन्न भैसकेको संयोजक लुइँटेलले जानकारी दिए ।
माघ १९ गते धरान आदर्श सेकेण्डरी स्कुलमा नृत्य प्रतियोगिताको गर्दै स्पोर्टस मिट समापन गरिने अध्यक्ष भटराईले बताए । सुनसरी जिल्लाभरिका ८ सय विद्यार्थीले प्रत्यक्ष सहभागिता जनाउने खेल उत्सवमा १५ हजारभन्दा बढी विद्यार्थी तथा शिक्षकले अवलोकन गर्ने बताइएको छ । प्रतियोगिता सम्पन्न गर्न १५ लाख रुपैयाँ खर्च लाग्ने हिसान सुनसरीले जनाएको छ ।
तस्बीर - गुरु ढकाल