सुनसरी । पाँचौं इटहरी आमन्त्रण भेट्रान गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि हाम्रो राजारानी धनकुटा र टीवाई वाइसी भेट्रान क्लब विराटनगरबीच प्रतिस्पर्धा हुनेछ ।
बिहीबार दोस्रो सेमिफाइनलमा आयोजक हाम्रो इटहरीलाई २–० गोलले पराजित गर्दै विराटनगरले राजारानीसँगको फाइनल भिडन्त पक्का गरेको हो । विराटनगरबाट दुवै गोल मेघराज मगरले एक्लैले गरे ।
पहिलो हाफको ३० औं मिनेटमा गोल गरेका मेघराजले दोस्रो हाफको ३१ औं मिनेटमा गोल थपे । मेघराज नै म्यान अफ द म्याच भए । उनले २ हजार १ सय रुपैयाँ पाए । फाइनल शनिबार हुनेछ । राजारानी भने झापाको पूर्वेली भेट्रानलाई हराएर फाइनल पुगिसकेको छ । विजेताले १ लाख ११ हजार र उपविजेताले ६१ हजार रुपैयाँ पाउनेछन् ।