सुनसरी । नेपालमा पहिलो पटक एसियन सुटिङ बल च्याम्पियनसिप आयोजना हुने भएको छ ।
नेपाल सुटिङ बल सङ्घले माघ १७ देखी १९ गतेसम्म इटहरीमा कार्यक्रम गर्न लागिएको शुक्रवार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराइएको हो ।
गत वर्ष सन् २०२४ मा सुटिङ बल वर्ल्ड कपमा नेपालको महिला तथा पुरुष टोलीले उत्कृष्ट प्रदर्शन गर्दै तेस्रो स्थान हासिल गरेकोमा सम्मान स्वरूप यो प्रतियोगिता नेपाललाई आयोजना गर्न दिएको एसियन सुटिङ बल सङ्घका उपाध्यक्ष केशवकुमार विष्टले बताए । प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान, बङ्गलादेश र युएईका महिला तथा पुरुष टोलीको सहभागिता रहनेछ ।
प्रतियोगितामा एसियाका ११ देशका खेलाडी सहभागी हुने बताइए पनि पूर्वी एसियामा बढेको तनावका कारण ५ देशका खेलाडी मात्र सहभागी हुने निश्चित भएको विष्टले बताए । आयोजक देश नेपालले महिला र पुरुष दुवै समूहमा ’ए’ र ’बी’ गरी चार टोलीलाई प्रतिनिधित्व गराउने राखेपका पूर्व सदस्यसचिव समेत रहेका विष्टले बताए ।
च्याम्पियनसिपको उद्घाटन माघ १८ गते पूर्व प्रधानमन्त्री माननीय माधवकुमार नेपालले गर्नेछन् । त्यसअघि प्रतियोगिताको स्वागत तथा झन्डोत्तोलन कार्यक्रम माघ १७ गते साँझ इटहरी उपमहानगरका नगर प्रमुख हेमकर्ण पौडेलको अध्यक्षतामा हुनेछ ।
समापन तथा पुरस्कार वितरण भने माघ १९ गते कोसी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीको प्रमुख आतिथ्ययतामा सम्पन्न हुने अध्यक्ष विष्टले बताए । पाँच देशका झन्डै दुई सय खेलाडीहरूको सहभागिता रहने च्याम्पियनसिपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरू, ओलम्पियनहरू र अन्य विशिष्ट पाहुनाहरूको उपस्थिति रहने एसियन सुटिङ बल फेडरेसनका महासचिव जिचेन्द्र तोमारले बताए ।
आफ्नो देश भारतमा लोकप्रिय रहेको सुटिङ वल खेल नेपालमा पनि बिस्तार हुँदै गएको र यहाँका खेलाडीहरूको अब्बल प्रदर्शनले गतबर्ष सुटिङ बल वर्ल्ड कपमा नेपालले तेस्रो स्थान हासिल गरेको उनले बताए ।
काठमाडौँ उपत्यका बाहिर हुन गइरहेको च्याम्पियनसिपलाई कोश प्रदेशको खेलकुद विकासका लागि ऐतिहासिक अवसर भएको र यो च्याम्पियनसिपले नेपालमा खेलकुद क्षेत्रको विकास र अन्तर्राष्ट्रियस्तरमा नेपालको प्रतिष्ठा बढाउन महत्त्वपूर्ण योगदान पुग्ने आयोजकले अपेक्षा लिएको छ ।
च्याम्पियनसिप सम्पन्न गर्न ३५ लाख बढी खर्च हुने अनुमान गरिएको विष्टले बताए ।