सुनसरी । आयोजक हाम्रो इटहरी भेट्रान क्लबले पांचौ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी भेट्रान गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
फाइनल पुगे पनि विराटनगरको टिडब्लु वाई सी भेट्रान क्लबले प्रोटेस्ट हारेपछि उपाधिको लागि प्रतिस्पर्धा गर्ने अवसर पाएको इटहरीले धनकुटाको हाम्रो राजारानी भेट्रान क्लबलाई पेनाल्टी सुट आउटमा ४–३ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।
अन्तिम सेमिफाइनलमा इटहरीलाई २–० गोल अन्तरले पराजित गरेको विराटनगरले एउटा खेलाडीको नाममा अर्को खेलाडी खेलाउनुका साथै ४० वर्षभन्दा कम उमेरको खेलाडी खेलाएको पुष्टि भएपछि उसलाई फाइनल खेल्नका लागि अयोग्य घोषित गरिएको थियो ।
इटहरीस्थित जनता बहुमुखी क्याम्पसको मैदानमा शनिवार सम्पन्न फाइनलको खेलको निर्धारित समयमा दुवै टिमले १–१ गोलको बराबरी खेलेपछि समय अभावका कारण खेलको निर्णय सिधै पेनाल्टी सुट आउटबाट लिइएको थियो । पेनाल्टीमा इटहरीको तर्फबाट डेनिम राई, अनुप शेर्पा, हर्कराज गुरुङ र सुरेन्द्र तामाङले गोल गरे । कमल बस्नेतको प्रहार खेर गएको थियो । राजारानीको तर्फबाट कृष्ण शाक्य, सचिन राई र भुपेन लिम्बुले मात्र गोल गर्न सके । मित्र बस्नेतको प्रहार इटहरीका अतिरिक्त गोलकिपर तुलसी श्रेष्ठले रोकेका थिए भने सन्तोष बस्नेतको प्रहार पोलमा लागेर फर्किएको थियो ।
त्यसअघि निर्धारित समयको ५२ औँ मिनेटमा सचिन राईको गोलबाट राजारानीले अग्रता लिएको थियो । खेलको ७२ औँ मिनेटमा इटहरीका डेनिम राईले पेनाल्टी मार्फत गोल फर्काएपछि राजारानीको अग्रता तोडिएको थियो । त्यसपछि दुवै टिमबाट थप गोल नभएपछि खेलको निर्णय सिधै पेनाल्टी सुट आउटबाट लिइएको थियो ।
फाइनल खेलको म्यानअफ दम्याच इटहरीका अतिरिक्त गोलकिपर तुलसी श्रेष्ठ घोषित भए ।
उनलाई नेपाल पत्रकार महासंघका उपाध्यक्ष एवंम कान्तिपुरकर्मी अर्जुन सुबेदीले नगद २ हजार १ सय रुपैयाँ र टफी प्रदान गरे । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी राजारानीका कृष्ण शाक्य घोषित हुँदै नगद ५ हजार पाए । राजारानीकै सचिन राई उत्कृष्ट फरवार्ड भए ।
इटहरीका सुनिल तामाङ उत्कृष्ट गोलकिपर, दिवस राई उत्कृष्ट डिफेन्डर, डेनिम राई उत्कृष्ट मिडफिल्डर र लिला राम मगर उत्कृष्ट प्रशिक्षक भए । प्रतियोगिता अवधिभर समान तीन–तीन गोल गरेका राजारानीका कृष्ण शाक्य, सुजित राई र विराटनगरका गणेश लावती सर्वाधिक गोलकर्ता घोषित भए । बिधागतरुपमा उत्कृष्ट भएका सबै खेलाडीले जनही नगद ३ हजार ५ सय रुपैयाँ पाए ।
लगातार दोस्रो पटक उपाधि उपाधि विजेता बनेको इटहरीलेले नगद १ लाख ११ हजार रुपैयाँ पुरस्कार पायो ।
उपबिजेतामा सीमित राजारानीले नगद ६१ हजार रुपैयाँ पाएको छ । विजेता तथा उपविजेता टिमहरूलाई कोसी प्रदेश खेलकुद विकास बोर्ड उपाध्यक्ष बिन्दिया कार्की, एन्फा सुनसरी अध्यक्ष नवीन राई लगायतले पुरस्कार प्रदान गरे ।
माघ ५ गतेखी सुरु भएको प्रतियोगितामा एक भारतीय सहित ८ टिमको सहभागिता रहेको थियो ।