सुनसरी– हिसान एन्फा सुनसरी कप अन्तर विद्यालय फुटबल प्रतियोगितामा धरान आदर्श र एम्स कलेजले विजयी सुरुवात गरेको छ । इटहरी तालतलैयास्थित बुढासुब्बा खेल मैदानमा शनिवार भएको पहिलो खेलमा एम्स एकेडेमीले बेबिलोन स्कुललाई ५–० गोल अन्तरले पराजित गरेको छ ।
शनिबारनै सम्पन्न अर्को खेलमा धरान आदर्शले कस्तुरी कलेजलाई पेनाल्टी सुट आउटमा ५–४ गोल अन्तरले पराजित गरेको छ । निर्धारित समयमा दुवै टिमले १–१ गोलको बराबरी खेलेपछि खेलको निर्णय पेनाल्टी सुट आउटबाट लिइएको थियो ।
शनिबारनै हुने भनिएको पिस जोन स्कुल र पूर्वाञ्चल बोर्डिङबिचको खेलमा पिस जोन नआएपछि पूर्वाञ्चलले बाकओभर पाएर विजेता बनेको छ ।
आइतबारको पहिलो खेल सुष्मा कलेज र विष्णु मेमोरियल स्कुल धरानबिच हुनेछ । दोस्रो खेलमा सी बि कलेज र धरान मेघा हिमालयन कलेजबिच प्रतिस्पर्धा हुनेछ । तेस्रो खेलमा इटहरीको स्किल क्याम्पस र स्मल हेभन एकेडेमीबिच प्रतिस्पर्धा हुनेछ ।
अन्तिम खेलमा ग्रीनपिस नमुना कलेज र धरान उच्च मावि बिच प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक एवंम एन्फा सुनसरीका महासचिव कोबिदजंग कार्कीले जानकारी दिए ।
अखिल नेपाल फुटबल संघ एन्फा सुनसरी र उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ हिसान सुनसरीको संयुक्त आयोजनामा सुरु भएको प्रतियोगितामा सुनसरीका २३ वटा उच्च माविहरूको सहभागिता रहेको हिसान सुनसरी अध्यक्ष सागर भटराईले जानकारी दिए ।