सुनसरी । शनिवारदेखि सुरु हुने २५ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।

आयोजक धरान फुटबल क्लबले बिहीबार पत्रकार सम्मेलन मार्फत रजत महोत्सवको रूपमा आयोजना गरिने गोल्ड कपको सम्पूर्ण तयारी पुरा भएको जनाएको हो । माघ २६ गतेसम्म धरान रङ्गशालामा हुने प्रतियोगिताको लागि रङ्गशालादेखि व्यवस्थापन सम्मको सम्पूर्ण तयारी पुरा भएको क्लबका अध्यक्ष प्रताप तामाङले जानकारी दिए ।

शनिवार हुने उद्घाटन खेलमा प्रतिस्पर्धा गर्न ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाईजका खेलाडी धरान आइसकेको र नेपाल पुलिस क्लबका खेलाडी शुक्रवार आइपुग्ने अध्यक्ष तामाङले जानकारी दिए ।

प्रतियोगितामा भारत र भुटानका दुई सहित ८ टिमले सहभागिता जनाउनेछन् ।

प्रतियोगिताको विजेताले पाउने रु १० लाख पुरस्कार धरान बहराइन एकता समाज धरान युकेले प्रायोजन गरेको र उपविजेताले पाउने ५ लाख राशिको दोस्रो पुरस्कार पोर्चुगलमा रहेका अरुण राईले प्रायोजन गरेको अध्यक्ष तामाङले जानकारी दिए ।