इटहरी । दोस्रो स्व. कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपमा दमक एकेडेमी फुटबल क्लबले विजयी सुरूवात गरेको छ ।
जनता बहुमुखी क्याम्पसको खेलमैदानमा विहिबार भएको उद्धघाटन खेलमा न्यू स्टार क्लब बराहक्षेत्रलाई १–० गोल अन्तरले पराजित गर्दै दमक एकेडेमी सेमिफाइनलमा प्रवेश गरेको हो ।
दमक एकेडेमीका लागि एनोस मगरले खेलको १७ औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो । पहिलो हाफमा दमक एकेडेमी १गोलको अग्रता लिएको थियो ।
दोस्रो हाफमा भने दुवै टिमबाट गोल हुन सकेन । जवाफी गोल फर्काउन न्यू स्टार क्लबले पटक पटक प्रहार गरे पनि गोल गर्न भने सकेन ।
खेलको म्यान अफ दि म्याच निर्णयक गोल गर्ने दमक एकेडेमीका एनेस मगर घोषित भए । उनले नगद पाँच हजार प्राप्त गरे ।
प्रतियोगिताको विजेता टिमले नगद २ लाख ५० हजार प्राप्त गर्नेछ भने, उपविजेता टिमले नगद १ लाख ३० हजार प्राप्त गर्ने आयोजक द योङ ब्रदर्श क्लबका अध्यक्ष विजय सुब्बाले जानकारी दिए ।
भोलीको दोस्रो क्वाटरफाइनल खेल आयोजक द योङ ब्रदर्श क्लब इटहरी र केराबारी फुटबल क्लब मोरङबीच प्रतिस्पर्धा हुनेछ ।