सुनसरी । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ हिसान सुनसरीको स्पोर्टस मिट २०८१ समापन गरिएको छ ।
शनिवार धरानमा हिसान स्पोर्टस् मिट अन्तर्गत प्रतियोगितात्मक सामूहिक लोकनृत्य प्रतियोगिता आयोजना गरेर यस पटकको कार्यक्रम समापन गरिएको हो ।
सुनसरीका १२ वटा उच्च शिक्षालयले प्रतिस्पर्धा गरेको साकेला लोकनृत्य प्रतियोगितामा धरान आदर्श प्रथम, धरान मेघा हिमालयन द्वितीय, कोसी सेन्टजेम्स इटहरी तृतीय भएका छन् । कस्तुरी कलेज इटहरी सान्त्वना भएको छ ।
प्रतियोगितात्मक लोकनृत्यमा यसवर्ष प्रतिष्पर्धी विद्यार्थीले किरात संस्कृतिमा आधारित साकेला नृत्य प्रस्तुत गरेका थिए ।
यसैबिच हिसान सुनसरीले अग्रज शिक्षासेवी श्यामबहादुर कटुवाललाई हिसान शिक्षारत्न सम्मान तथा पत्रकार कृष्ण बहाव भट्टराईलाई हिसान शिक्षा पुरस्कार २०८१ प्रदान गरेको छ ।
हिसान सुनसरीले शनिवार ११ औँ हिसान स्पोर्टस् मिटको समापन समारोहमा कटुवाललाई सम्मान तथा भट्टराईलाई पुरस्कार समर्पण गरेको हो । हिसान शिक्षा पुरस्कारको राशि २५ हजार रुपियाँ रहेको छ । हिसान सुनसरीले २०७५ सालदेखि प्रत्येक वर्ष एक जना दीर्घ शिक्षासेवीलाई सम्मान तथा शिक्षा क्षेत्रमा कलम चलाउने पत्रकारलाई पुरस्कार प्रदान गर्दै आएको छ ।
विष्णु मेमोरियल मावि धरानमा आयोजित समापन समारोहमा हिसान केन्द्रीय अध्यक्ष रमेश सिलवाल लगायतले दीर्घ शिक्षासेवी कटुवाललाई सम्मान–पत्र तथा पत्रकार भट्टराईलाई पुरस्कार समर्पण गरेका थिए ।
हिसानका सुनसरी अध्यक्ष सागर भट्टराईको अध्यक्षतामा भएको सो कार्यक्रममा सिलवाल सहित केन्द्रीय सदस्य मुकुन्द घिमिरे, गंगा चौलागाई, बलराम पन्त, धरान उपमनपाका शिक्षा महाशाखा प्रमुख गणेश खतिवडालगायतको सहभागिता रहेको थियो ।