सुनसरी । भर्खरै चलचित्र ‘कमला मिस’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा पात्रहरूको जीवन्त अभिनय र संवादले दर्शकको ध्यान खिच्न सफल भएको छ । बाल मनोविज्ञानमा बनेको चलचित्रले नयाँ छाप छाड्ने आशा गरिएको छ । चलचित्र यही साउन २२ गते रिलिज हुँदैछ ।
साहित्यकार विजय मल्लको चर्चित नाटक ‘कोही किन बर्बाद होस्’ मा आधारित चलचित्रलाई वरिष्ठ कलाकार तथा निर्देशक नीर शाहले निर्देशन गरेका छन् ।
आफ्नो जीवनकै महत्त्वाकाङ्क्षी चलचित्र निर्देशन गरेका शाहले दुई युवासँग मिलेर चलचित्रको पटकथा र संवाद लेखेका छन् । कैयन प्रख्यात पटकथा लेखकलाई पन्छाएर निर्देशक शाहले दुई युवालाई रोजेका हुन ।
उनको रोजाई गलत थिएन भन्ने चलचित्रको ट्रेलरबाट आएको सकारात्मक प्रतिक्रिया पुष्टि गरिसकेको छ ।
एक सिद्धहस्त कलाकार तथा निर्देशकले टपक्क टिपेर भारी जिम्मेवारी दिएका दुई भाग्यमानी युवा हुन सुगम दुलाल र प्रजल दुलाल । दुवै इटहरी निवासी हुन ।
कलालय इटहरीको स्कुल थिएटर मार्फत नाटक यात्रा सुरु गरेका सुगम र प्रजलले कथा लेखन, निर्देशन र अभिनयको तिनै विधामा आफ्नो क्षमता प्रस्तुत गरिसकेका छन् ।
मोफसल,राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा नाटक प्रस्तुत गरेर दर्शकको मन जित्न सफल भएका यी दुई युवाको कला यात्रा निकै लोभलाग्दो छ ।
मोफसलमा नाटक र अभिनयमा सक्रिय यी दुई युवा अहिले ठुलो पर्दामा छलाङ मार्न सफल भएका छन् । उनीहरूको यो यात्रा आफैमा रोचक छ ।

’एक्टिङ स्टार’ ले खोलिदियो ढोका
कलालय देखी चलचित्र ‘कमला मिस’ सम्म पुग्न रियालिटी सो ’एक्टिङ स्टार’ ले ढोका खोलिदियो ।
काठमाडौँ नाटक र कलाकारिताकै क्षेत्रमा काम गर्दै थिए, सुगम । प्रजल भने इटहरीमा कलालयमा नाटक सिक्ने सिकाउने काम गर्दै थिए ।
प्रजलले चलचित्र ‘बलिदान’ मा काम गर्ने अवसर पाए । सन्तोष सेनद्वारा निर्देशित चलचित्र ‘बलिदान’ मा उनले हिरो समिर भट्टको भाइको रोल पाए । त्यहाँ उनलाई कास्टिङ निर्देशकको रूपमा पनि काम गर्ने मौका मिल्यो ।
प्रजलको अभिनयले समीर भट्ट, ऋचा शर्मा, सौगात मल्ल लगायतका कलाकार प्रभावित भए । अभिनय र कास्टिङ निर्देशनको क्षमता देखेर नायिका ऋचा शर्माले उनलाई रियालिटी सो ’एक्टिङ स्टार’ मा मेन्टरको रूपमा काम गर्न अफर गरिन् । उनले हुन्छ भने र काठमाण्डौँ लागे ।
यता सुगम पनि ’एक्टिङ स्टार’को कथा लेखनमा मेन्टरमा जोडिन पुगे । कलालयमा यी दुवै सँगै नाटक लेखन, निर्देशन र अभिनय गर्थे । सुगम अध्ययन गर्न काठमाण्डौँ लागे । प्रजल इटहरी कलालयमै थिए ।
’एक्टिङ स्टार’मा यो जोडिलाई फेरी एक पटक आफ्नो क्षमता देखाउने अवसर जुर्यो । जहाँ उनीहरूले आफ्नो कला र क्षमता प्रस्तुत गरेर सबैलाई प्रभावित पार्न सफल भए ।
नीर शाहको मन जित्ने दुलाल ब्रदर

कथा बुन्न, संवादमा जीवन भर्न र चरित्र चित्रणलाई जीवन्त बनाउन सिपालु सुगम र प्रजलले लेखेका कथाहरूले निर्णायकको मन जित्यो । रियालिटी सो का कतिपय एपिसोडहरू चर्चित बने ।
दुई भाइको कथा लेखन शैलीबाट निर्णायक मण्डलमा रहेका नीर शाह प्रभावित भए ।
लगातार एपिसोड हिट हुन थाले पछि शाहले यो कथा कसले लेखेको भनेर खोजी गर्न थाले । त्यसपछि पर्दा पछाडिका कलाकार पर्दा अगाडी आए ।
चर्चित मध्येको एक एपिसोडमा निर्देशक शाह, सुगम र प्रजल बिचको संवाद निकै रमाइलो छ । कथा लेखनबाट प्रभावित भएका शाहले प्रक्रिया दिँदै भनेका छन्, ‘नाट्य कर्मलाई उकालो तर्फ धकेल्ने ग्रन्थ लेख्नुभएको छ तपाईँहरूले, लेख्न कहिल्यै नछोड्नुहोला ।’
त्यसपछि शाह, सुगम र प्रजल बिचको सामिप्यता झनै बढ्दै गयो । निर्देशक शाह उनीहरूसँग हाँसो र ठट्टा गर्न थाल्छन् ।
प्रसारित एक एपिसोडमा निर्देशक शाहले ठट्टा गर्दै भनेका छन्, ‘दाह्री भएको दुलाल जी र दाह्री नभएको दुलाल जी । हाँसो होला फेरी चस्मा लगाउने दुलाल जी र चस्मा नलगाउने दुलाल जी भनौँ ।’ पछि शाहले दुलाल ब्रदर भनेर सम्बोधन गर्न थालेका थिए ।
एक दिन निर्देशक शाहले फोन गरेर सोधे चलचित्रमा संवाद लेख्न सक्नुहुन्छ ? सुगम र प्रजल पुरानो कुरा सुनाउँछन् ।
फोन कुराकानी, भेटघाट बाक्लो हुन थाल्यो । त्यस पछि आफ्नो महत्त्वाकाङ्क्षी चलचित्र निर्देशन गरेका शाहले पटकथा तथा संवाद लेखनको मुख्य जिम्मेवारी दुई युवालाई सुम्पिए ।
दुई युवासँग मिलेर निर्देशक शाहले चलचित्रको पटकथा तथा संवाद लेखेका छन् । सुगम र प्रजलले अहोरात्र खटेर काम गर्दै आफ्नो क्षमता र सृजनशीलता प्रस्तुत गरेका छन् ।
पहिलो चलचित्रबाट उत्साहित

पहिलो चलचित्रमा नै निर शाहजस्ता महान् स्रष्टासँग काम गर्न पाउनु आफैमा एक अद्भुत र अविस्मरणीय अनुभव रहेको सुगम र प्रजल बताउँछन् ।
अनुभव सुनाउँदै सुगम भन्छन्, ‘नीर सरसँग काम गर्नु भनेको एउटा जीवित इतिहाससँग बस्नु जस्तै थियो ।’
‘सिनेमा, रङ्गमञ्च र जीवनको लामो अनुभव उहाँले हामीलाई सुनाउनुहुन्थ्यो । एउटै दृश्यलाई कैयौँ ड्राफ्टहरू तयार पारेर विभिन्न कोणबाट कसरी पुनरावलोकन गर्ने भन्ने प्राविधिक कुरा हामीले सिक्यौँ ।’ उनले कामको अनुभव सुनाए ।
प्रजलको अनुभव पनि उस्तै छ । उनी भन्छन्, ‘ निर सरले सेटका हरेक सदस्यलाई आफ्नै परिवारजस्तै माया गर्नुहुन्थ्यो । उहाँको कामप्रतिको समर्पण र ऊर्जाले हामीलाई अझ फराकिलो ढङ्गले सोच्न सिकायो । उहाँप्रति हामी सदैव कृतज्ञ छौँ । ’
चलचित्रमा आफूहरूले मेहनतका साथ आफ्नो भूमिका निर्वाह गरेको उनीहरूले बताएका छन् ।
सिर्जनात्मक कला भर्दै पात्रमा जीवन भर्न भरपुर प्रयास गरेको प्रजल सुनाउँछन् । चलचित्रलाई लिएर निकै उत्साहित रहेको उनले बताए ।
पाठ्यक्रम र विद्यालय पृष्ठभूमिमा आधारित, विशेष गरी बाल मनोविज्ञान -Child Psychology_ लाई मुख्य विषयवस्तु बनाइएको यो चलचित्र नेपाली सिनेमामा एउटा फरक र मौलिक प्रयोग हुने सुगम बताउँछन् ।
विजय मल्ल जस्ता मूर्धन्य साहित्यकारको कृतिलाई सम्मान गर्दै बनाइएको यो सिनेमाले विद्यार्थी, शिक्षक, अभिभावक, साहित्य प्रेमी र आम दर्शक सबैको मन जित्नेमा दुवैको विश्वास छ ।
चलचित्रमा आफूहरूले गरेको कामबाट सकारात्मक प्रतिक्रिया प्राप्त हुनेमा सुगम र प्रजल दुवै आशावादी छन् ।
इटहरीको सानो नाटक घर कलालयमा कखरा सिक्दै सुरु भएको सुगम र प्रजलको यो यात्रा आज राष्ट्रिय स्तरको ठुलो पर्दा ’कमला मिस’ सम्म पुगेको छ ।
लगनशीलता, धैर्य र निरन्तरको साधनाले काँचको ठुला पर्दा सम्म पुगेका यी युवाको कला यात्रा मोफसलका उदीयमान कलाकारका लागि ठुलो प्रेरणाको स्रोत बन्न सक्छ ।

















