सुनसरी  । भुटानको आरटीसी फुटबल क्लब २५औं संस्करणको अन्तर्राष्टिय आमन्त्रण बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । धरान रंगशालामा सोमबार भएको तेस्रो क्वार्टरफाइनलमा इटहरीको राष्टिय जागृती क्लबलाई ४-१ गोल अन्तरले पराजित गर्दै भुटानी टोलीले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । 

आरटीसीको सहज जसतमा सोनाम योसी, सोनाम जुगरुल चावजाङ, कर्मा टी जाम्सो र नोयडा योसेलले गोल गरे । योसीले खेलको ९औं, चावजाङले ५३औं, जाम्सोले ६१औं र योसेलले ७०औं मिनेटमा गोल गरेका थिए । इटहरीका लागि एक मात्र गोल एलेक्सले ७७ औं मिनेटमा गरे । पहिलो हाफमा १–० ले पछि परेको इटहरीमाथि दोस्रो हाफमा आरटीसी हाबी भएको थियो ।

खेलको म्यान अफ द म्याच आरटीसीका सोनाम योसीले नगद १० हजार रुपैयाँ पाए । आरटीसीले अब सेमिफाइनलमा चर्च ब्वाइज युनाइटेडसँग बुधबार फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ । त्यसअघि मंगलबारको अन्तिम क्वार्टरफाइनल खेल डिफेन्डिङ च्याम्पियन न्युरोड टिम एनआरटी र काकडभिटा फुटबल ट्रेनिङ सेन्टर झापाबीच हुनेछ ।

माघ २६ गते हुने फाइनल खेलको विजेताले नगद १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पाउनेछ । सर्वोत्कृष्ट खेलाडीले नगद १ लाख रुपैयाँ पाउने र विधागत रूपमा उत्कृष्ट हुनेले जनही २५ हजार रुपैयाँ पाउने आयोजक धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङले जानकारी दिए ।