सुनसरी– साबिक बिजेता न्युरोड टिम एनआरटी २५ औं संस्करणको अन्तराष्टिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । मंगलबार सम्पन्न अन्तिम क्वाटरफाइनल खेलमा एनआरटीले झापाको काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई ३–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको हो । एनआरटीको जीतमा शिशिर लेखी, सरोज घिसिङ र रोहन खड्गीले गोल गरे । काकडभिट्टाका रोबर्ट खोन्जोउले सान्त्वना गोल फर्काएका थिए । 

     धरान रंगशालामा भएको खेलको पहिलो हाफमा दुबै टिमले पाएको केही अवशरहरुलाई सदुपयोग गर्न नसक्दा गोलरहित खेलेका थिए । दोस्रो हाफमा एनआरटीले काकडभिटामाथी दबाब बढाएपछी ३–१ को जीत निकालेको हो । दोस्रो हाफ सुरु भए लगक्तै    खेलको ४८ औं मिनेटमा शिशिरको गोलबाट १–० को अग्रता लिएको एनआरटीले ६० औ मिनेटमा सरोजको गोलबाट अग्रता दोब्बर बनाएको थियो । ६१ औं मिनेटमा काकडभिटाका रोबर्टले गोल फर्काएपछी खेल २–१ कोे अवस्थामा आएको थियो । ७९ औं मिनेटमा अतिरिक्त खेलाडी रोहनले गोल गरेपछी एनआरटीले पुन अग्रता फराकिलो बनायो । उनी खेलको ६६ औं मिनेटमा गिरोन नाहाको ठाउमा मैदान प्रवेश गरेका थिए । त्यसपछी कुनै गोल हुन नसकेपछी एनआरटीले अघिल्लो यात्रा तय गरेको हो । 

     खेलको म्यान अफद म्याच बिजयी टिम एनआरटीका शिशिर लेखी घोषित हुदै नगद १० हजार रुपैया पुरस्कार पाए । मंगलबारको खेलको विजेता एनआरटीले सेमिफाइनलमा भारतको युनाइटेड खर्साङ फुटबल क्लब युके एफसीसँग फाइनल प्रवेशका लागि बिहिबार खेल्नेछ । त्यसअघि बुधबार हुने पहिलो सेमिफाइनलमा भुटानको आरटीसी फुटबल क्लब र ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड बिच खेल हुनेछ । फाइनल खेल शनिबार हुनेछ । आठ टोलीको सहभागिता रहेको गोल्डकपको विजेताले १० लाख रुपैयाँ तथा उपविजेताले पाँच लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।