सुनसरी । भुटानी टीममाथी फराकिलो जीत निकाल्दै ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड क्लब २५ औं संस्करणको अन्तराष्टिय आमन्त्रण बुढासुब्बा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार भएको पहिलो सेमिफाइनलमा भुटानको आरटिसी फुटबल क्लबलाई ७–० को फराकिलो गोल अन्तरले पराजित गर्दै चर्च ब्वाइज उपाधी नजिक पुगेको हो । चर्च ब्वाइजको जीतमा समिर तामाङ र अर्माण्ड भिदोङले ह्याट्रिक गरे । थप १ गोल पदम भटराईले गरे ।

पहिलो हाफमा तीन गोल गरेको चर्च ब्वाइजले दोस्रो हाफमा थप चार गोल गरेको थियो ।

cbu--

धरान रंगशालामा पहिलो हाफको आधा समय प्रतिष्पर्धात्मक खेलेको आरटिसीले सुरुवातमा नै अग्रता बनाउने सुनौलो अवसरमा खेर फाल्न पुगेको थियो ।  खेलको १९ औं मिनेटमा नोयडा योसेल वान भर्सेस वानमा गोल गर्न असफल भए ।

त्यस पश्चात आरटिसीले खेलमा कुनै अवशर सिर्जना गर्न नसक्दा उपाधी होडबाट बाहिरियो । खेलको म्यान अफ द म्याच चर्च ब्वाइजका समिर तामाङ घोषित भए । उनलाई नगद १० हजार पुरस्कार प्रदान गरिएको थियो ।

बिहिबारको अन्तिम सेमिफाइनल खेल  साबिक बिजेता एनआरटी क्लब काठमाडौ र युकेएफसी भारतबीच हुनेछ ।

फाइनल खेल शनिबार हुनेछ । उपाधी विजेताले १० लाख र उपविजेताले ५ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् ।